Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

कबिता


\\याद//

तिमी भन्छ्यौ म तिम्रो यादमा
कति पनि छटपटिन्न भनेर
तर मलाई थाहा छ या शुन्य रातलाई
अनि यो रेगिस्तानी छातीलाई
किनकी याद भनेको चौरस्ताको
भाषण होइन रहेछ।
याद कुनै मन्दिरको घण्टा भजन होईन रहेछ
या त कुनै कुरान या बाईबल
आपद्बिपदमा मात्र सम्झनाको पात्र बन्ने
याद त आईरहन्छ बिना उद्देश्य
बिना रुकावट
बिना बोलावट
बिना प्रयोजन
बिना आमन्त्रण
सप्तकोशी बनेर
आकाश भन्दा अग्लो नयनका
छाँगाबाट खसिरहन्छन
त्यहिं बिरानीमा, त्यहिं शिरानीमा
त्यहिं छातीमा, त्यहिं धर्तीमा
जहिं-तहिं साक्षत्कार भएर
हृदयलाई सुकाउँदै
कलेजोलाई कम्पन गर्दै
फरक यति हो यादहरु आउँछन मस्तिष्कमा
ठोकिन्छन हृदयमा
अनि आवाज बिहिन भएर
सताईरहन्छन बालकले आमालाई झैं
सताईरहन्छन पवनले फूललाई झैं
सताईरहन्छन पिंडाले घाउलाई झैं
अनि बादलले सुर्यलाई झैं।

म यति धेरै याद सजाएर
यादै यादको महलभित्र
महलपति भएको छु प्रीये !
तिमी मलाई तिम्रो याद बिहिन
कंगाल कहिल्यै नसम्झनु।
फरक यति हो
तिमी मेरो यादको महलमा बिराजमान छ्यौ
तर तिम्रो अलिशान तिमी स्वयम देख्दिनौ।
तिमी हिंडीरहिछौ मेरो हृदयको चौकोसभरि
यो पनि तिमी स्वयम देख्दिनौ,
बिडम्वना!
मैले नटिपेको त्यो तारा तिमी माथि छ
मैले नचढेको जून, तिमी माथी छ
केवल म तिम्रो लागी जून रुपी फूल टिप्न सकें
केवल, तिम्रो निम्ती तारा रुपी रहर टिप्न भागें
आज खण्डित भएर तिम्रै यादमा जिउँदा
नफ्याँक्नु म तिर, नकुल्चनु मेरो हस्तलिपीहरु
किनकी त्यहाँ पनि मेरै यादहरु
समेटिएका छन, सत्य यत्ति हो
जो बोल्न सक्दैनन
हात फैलाएर तिमीसँग धुजा हुनकोलागी
बिन्ती भाउ गर्न सक्दैनन।
हो, बिन्ती भाउ गर्न सक्दैनन।।

कबिता


"बिछोडको एन्निभर्सरी"



कान्छी! मैले कर्तब्यको भेलभित्र,

तिमीलाई कैद गरेर दु:खका जेलभित्र
पिरामिडको वल्लो पट्टि लागेको
आज बर्षौ भएछ।
हाम्रा बिछोडहरुले आज "एन्निभर्सरी"
मनाउँदा सुनामीले छोएको मन
तरंगहरुमा तरंगिदैछ।
केटेरो देखी
स्काईटचको यात्रासम्म
गोडा डुब्ने आहालदेखी
धर्ती डुब्ने सागरसम्म
तिम्रै सुबोधगम्य
ज्योतिमय अनि शुबासिलो
प्रणयको चिनो,
एक थुङ्गो बूकी फूल
च्यापेर
सगरमाथाको फेदीबाट
चेरापुञ्जीको दर्केझरी सम्म
चेरापुञ्जीदेखी खाडीको तातो छातीसम्म
तिमी आभाषमा
तिमी प्रस्वासमा
तिमी बिस्वासमा
अनि

त्यहिं बिस्वासलाई
मनको तुनामा बाँधेर
यहाँ क्याक्टस गोड्दैछु।
बाहिर बनोट आफ्नै जस्तो
कुहिएको गुदी र बिरानो बस्तीमा
रगतको मुल्यले जिबन भर्दैछु।
तसर्थ तिम्रो र मेरो
कल्पित फुजीशानहरुमा
ज्वालामुखीको प्रकोप पर्ने छैन।
भन्थ्यौ, गर्थ्यौ अनि रुन्थ्यौ
आग्रहका प्याला थमाउदै आँशुले भरेर।
म स्वत; स्फुर्त कहाँ छु र ति
पिरामिडी खुड्किलाहरु
लाखौं पल्ट
चढ्दै-ओर्लदै
ओर्लदै-उक्लदै
तसर्थ

यो परिक्रमा को अन्त्य
गरेर आउँदैछु।
न्याउली बिर्सैद गरेको
कोईलीले छोड्दै गरेको
त्यो हाम्रो प्रणयको सुन्दर मन्दिरमा
आउनेछु।
मेरो रगतले साटेको तिम्रो पर्खाई र
सुनौलो भोली लिएर मेडिटेरियन समुन्दको
किनारै किनार
सप्तगण्डकी हुँदै
सप्तकोशीको
तिरै तिर
अक्करै-अक्कर
लामा-लामा बगरहरुमा
टेकेर
जन्मेको धर्ती सुसुम्याउदै
आउनेछु,
एक खाङ्ग्रे हाम्रो न्यानो
अनि चोखो मायाको सौगात लिएर।
त्यहिं बाह्रबिसेको उकालोमा
सुस्केरा मार्दै
मायाको चिनो एक थुँगा बूकी फूल लिएर
अनि हृदयको पाटाभरि
सिउरेको पेरुङ्गोको पेरुङ्गो
मायाको साया लिएर।
मायाको साया लिएर।।


अब मेरा सन्तानहरु जागीसकेका छन//




शान्ति माग्दा घोक्रो सुक्यो
दुख्न पनि कति दुख्यो
यहाँ पुकार सुन्ने बहिरो छ
चाल्नै हुन्न पाईलाहरु
जताततै पहिरो छ,,
त्यसैले मलाई समादृत हैन
अब बिस्वयुद्द देऊ
किनकी मेरा लागी चुहिंदै गरेका
दुषित रयालहरु सुकाउनु छ
मेरो खारो खन्नेहरुलाई
झुकाउनु छ,,,

झिल्को
झिल्को हुँ म
यदी यो झिल्को नभए
फोकलैंडको जितले मेरो सम्झना गर्दैनथ्यो,
त्यसैले म माँग्दिन, अब म मगन्ते हैन
अर्काको बुईमा चढेर बन्दुक चलाउदिन
अरु जस्तो
मलाई हत्केलामा राखेर खेलाउने कोसिस नगर


भयो
मेरा सन्तानहरुले अरुलाई जिताउदै
अरुलाई जितको माला पहिराउदै
मेरासन्तानहरु,
निशानाबाट ढाल हुँदै युद्द सिकेको
अब म फर्काउदै छु, मेरो सन्तानहरुलाई
आफ्नो हड्डीको रक्षार्थ
मेरा जरा कुह्याउनेहरुको बिरुद्द
मेरा सन्तान तुह्याउनेको बिरुद्द लड्न
मलाई बिस्वले देखेको छैन तर
तर मेरा सन्तानहरुले बिस्व देखेका छन
तातो बम र बारुद भित्र हात सेकेको छन
कहाँ सेकेनन भनन,,,,,
कोसोभो?? कार्गिल??? बर्मा???अफ्गानिस्थान??
मैले के देखिन सोधन मलाई,,,,
मैले छिमेकी हुनुको नाता मेरो भएर
मेरो धर्म निभाउँदा मेरै सन्तानलाई
मलाई मार्न सिकाउछौ, मेरो सन्तानहरु
तिमीहरुको खप्पर फोर्छन
तर म तर मेरो बिरुद्द लड्दैनन
नत्र मेरो ईतिहाँस खोतलेर हेर,
मेरो छोरो बलभद्र अफगानिस्स्तान सम्म
पानी पिउँदै मेरो नामको, मेरो शानको
मेरो रगतको लागी लडेको थियो
अब मेरो छातीभरि मेरै बलभद्रहरु छन
मेरै भक्ती थापाहरु छन।
म अब शान्ती माग्दिन
किनकी माग्नेहरु अपाङ्ग हुन
म अपाङ्ग हैन,

मेरो जराको रस पिएर
बोसो पलाएका ए! काला गोब्रेकिराहरु हो,
मेरो शिरमा उभिएर मेरो बिभिन्न
अमुल्य रत्न चोरी
फोहोर म तिर फ्याँक्ने ब्वाँसोहरु
अब तिमीहरु सँगको त्यो मेरो सम्बन्ध युद्दको
मैदानमा हुनेछ।
म अब एनरिको फर्मी जन्माउँदैछु
तर हिटलर जस्तो पतनशिल हैन
मेरो आँगन पेन्टागन, हिरोसिमा
र नागासाकी जस्तो जलनशिल छैन
नत्र हेर, मेरा घर आँगनहरु
यहाँ दैनिक रुपम जल्छ,, ढल्छ,,, बल्छ
तर,,,,,,, तर,,,,,,, तर
कहिल्यै सकिदैन
जलेर
बलेर
ढलेर
त्यसैले अब बुझ
गोब्रेकिरा र ब्वाँसोहो
मेरो घर र आँगनलाई
सुरक्षित राख्न ग्रेटवाल लाउन पर्दैन
पानीमरुवाहरुले, अर्काको बुइँमा चढ्नेले
बन्दुक चलाउँदा पिल्सिन्न मेरा पर्खालका चर्महरु
तिमीले जुनै रुपले ल्याउ मेरो पतनका लागी
छोड्दैनन मेरा सन्ताहरुले आफ्ना धर्महरु,

कुदृष्टी नलगाउ ! निदाएका मेरा मेची र कालीलाई
नचलाउनु,,, नब्युँझाउनु
बगाउनेछन सोहोरेर सिनित्तै
खोंचमा कोचेर तिम्रा शिरमा बजार्ने छन
दण्डित बञ्चरोहरु।

त्यसैले नछुनु मेरो चौघेराहरुलाई
तिम्रो खप्परलाई निशाना बनाएर
ग्राण्ड क्यानिन रुपी शिलाहरु
खस्नेछन तिम्रा टाउकाहरुमा
त्यसैले नछुनु, छुने कोशिषनै नगर्नु
तिम्रो शरिर सिलौटोको गोलभेंडा नबनोस्
फट्ट फुटेर छरपष्ट नबनोस तिम्रो
बिस्तारबादी आन्द्राहरु।

धेरै देखे तिम्रो राजनिती कुहिएको
गन्धे, थोत्रे, घिन लाग्दो,
म अब मैकिया वलीको सिद्दान्त
पढाउनु छ,मेरा सन्तानहरुलाई
तिम्रो ढुँडीपरेको राजनितीको बिरुद्द
तिमीले रोपेको राजनिती
मेरो शरिर बाट खौरिएर फाल्नु छ।
मेरा सन्तानहरु अब तिम्रो अन्यौल राजनितीभित्र
कैद हुने छैनन, सजिने छैनन,
बैचारिक कलहमा गाँजिने छैनन

लड्नेछन जो आएपनि
चारै दिशा कालो बादल छाएपनि
अल्बर्ट आईन्सटाईनले झैं
आफ्नो सिद्दान्त लुकेर लेख्ने छैनन
हारको दस्तावेजमा सहीछाप गर्ने छैनन,

मेरो शिशुकक्ष भित्र
थुप्रै हुर्किदै छन,
नील्स बोहर,
सिगमण्ड फ्रायड,
बर्नल बाल ब्राउस,
मेडम क्युरी अन्य थुप्रै आर्क मिडिजहरु,
हैन भने किन लाग्छन म्याग्सेसे का खातहरु,
किन भरिन्छन म्याग्सेसेले मेरा सोकेसहरु,
म्याग्सेसे दिने र दिलाउनेहरु
अन्धा छैनन,
मेरा सन्तानका कला कौशल
अनी शुरता सँगै कैयौं भिक्टोरिया क्रसहरु
त्यतिकै सजावटका लागी झुण्ड्याइएका होईनन,
मेरो पृष्ठभुमीलाई च्यातेर हेर! ब्वाँसो हो
गोब्रेकिरा हो,

त्यसैले

खबरदार! अब तिमीहरु मेरो
शरिरमा कुदृष्टी लगाउने कोशिष नगर
अब मेरा सन्तानहरु जागीसकेका छन/
अब मेरा सन्तानहरु जागीसकेका छन//

बि.जे बान्तवा राई
बैसाख १५ २०६७

कबिता

भो अब म युद्दक नगर जान्न।

भो अब म त्यो युद्दक नगर कहिल्यै जान्न,
जहाँ दैनिकीको रुप चिहानी श्रंखला
लाशहरुको उदगम स्थल
रगतहरुको क्यास्पियनमा डुबेको नगर।

युद्दनै युद्दको खेल,
निरन्तर बग्ने रंगीन राता नाईलहरु
शान्तीको खोजीमा कहिले नकटिने नैराश्यताका
हजारौं माईलहरु,
म कहिले लिबर्टी सालिकको
शिरमा उभिएर सेतो परेवा उडाउन सकिन
रोग, भोक र सोकको सहयोगार्थ
एक गाँसको सहयोगी रथ गुडाउन सकिन।

त्यसैले मैले त्यहाँ बसेर
अश्रुका अमेजनहरुमा डुबीरहनु भन्दा
आज म आफ्नै समस्थली
कुटीको खोजीमा टाढिन्दैछु,
फेरी मलाई नसोंच कायर भनी
म मेरो दाजुभाईको गर्धन सेरेर
अनी यो शहरको छानोमा आगो बालेर
बीरताको ढोंङ् रच्ने ढुकुम्बासी बन्न चाहन्न।
मलाई नाज छ, यो युद्दको ज्ञान गोब्रे खोपडीमा
लादिएएको मा,
आफ्नो शिकार गर्न आफ्नै पिंठ्युँभरी
बमबारुदको बोझहरु छाँदिएकोमा।
त्यसैले म रणभुमीरुपी ग्रेटवाल भित्र
आफ्नो जिन्दगीलाई हरियो झिँगाको
आहारा बनाउन चाहन्न |
जहाँ दुई गाँस
ढिडोको स्वाद मजाले लिन पाइयोस,
बूकी फूलको शुबासना बिहान बेलुका पाईयोस
बरु चढ्छु मेरो पहाडका चुचुराहरु
आप्पा शेर्पाले झै पटक-पटक
म मरे पनि मरुला पासङ ल्हामुले झैं
अमर मेरै पहाडका खोंचमा झरेर
मेरै गल्छिँडामा पुरिएर।
त्यसैले म त्यो युद्दक नगर अब जान्न,,,,
किनकी म युद्वको खेल खेल्दिन,,,,,
त्यसैले म युद्दक नगर जाँदै जान्न।

बी जे बान्तवा राई
१८-अप्रील २०१०

कबिता

“म टुक्रीएर जानुभन्दा पहिले,,,,”

म जिर्णशार्ण
बिभक्त-बिभक्त
मस्तिष्क र अङ्ग
लिएर बेंशी र खोंचमा
सुनगाभा रोप्दा
कालो गोमनको
डँसाईले
मेरा पाऊहरु
अनी हातहरु
बिषाक्त छन,,,

मेरा पाईला अनी हातहरु
छियाँ छियाँ
खिईदै म
अस्तित्वहिन ,
अस्थिपञ्जर
सदृशताको उच्चारण
निकाल्न खोज्छु,,
कालकुटले ग्रसित
मेरा बाक्यहरु
शुन्यतामा
अधिर हुन्छन,,,

दुर्दशाको
चोमोलुङ्मा
मै माथी
खस्दा मेरा
लाश लुछन
जोपिलोटहरु
मै माथी फनफनी
घुमिरहेका छन,,,

मेरा लागी
सुग्राहिता भित्र
बग्ने ह्वाङ्हो पनि
साहारा मरुटटको
छातीमा,,
कोलाहल बिहानीसँगै
बिलिन र बिसर्जित
हुँदै आइहेछ//

बिक्षुब्ध
दुर्बल

मेरा भित्ताहरुमा
आस्थाका बुद्द
टाँसी
माइलादाईको
देशभक्ती स्वरमा
मैले स्वर खाप्दा
मेरा वरिपरि
"छैयाँ-छैयाँ

मैयाँ- मैयाँ"
धुनहरु गुञ्जयमान
हुन खोजीरहेछन,,,

त्यसैले आज म
एउटा प्रणयको
भिख माग्दैछु,
मानचित्रको नक्सा कोर्ने
ति चित्रकारहरुसँग
कृपया मेरो शरिरको चित्र
कोरिदेऊ,, मेरा
अस्थिपञ्जरको कुनै त्रुटी
नदेखियोस,, ताकी
भोलीका मेरा सन्ततीहरुले
मलाई लङ्गडो नदेखुन
पाऊ र हात बिहिन
बाबुको सन्तती भनेर,,,

मेरा युगान्तकारी हाडहरुको
यस्तो चित्र कोरीदेउ
जहाँ म टुक्रीएर गए पनि
मेरा तस्बिर मेरा चित्रहरु
सगल्ती ति मेरा सन्ततीका
भित्ताहरु टाँगिएर रहुन।


[नोट: जोपीलोट= भन्नाले अमेरिकामा पाईने एक किसिमको गिद्द।]

बि. जे. बान्तवा राई

कबिता



मनको पृथककरण र पुनरुत्पादन माग्दैछु,,,,।

सपनाको तिलिचोमा
चुर्लुम्म डुबेर सप्तरंगी
इन्द्रेनी खोज्ने मन,
बक्ररेखा झैं गोरेटोमा
समानताको नाप खोज्दै
निराशताको एन्टार्टिका
भित्र हराईरहेको छ,,,

पाईलै पिच्छे कैक्टसका
तिखा काँढा टेक्दै
कमल टिप्ने यात्रा आज
त्यहीं स्वार्थी मनको
प्रशान्त महासागर भित्र
निस्वासिँदै डुबुल्की मारीरहेछ,,

सोंची रहन्थे म,
सोंचभित्र कति बहुरंगी
गुलाफहरु फुल्छन
त्यहिं गुलाफको तिखो काँडाले
खिलिएको मुटु लिएर
भग्नावशेश सुमेरुमा
गुलाफ रोप्ने होडमा
अलकत्र झैं पटक पटक
कुल्चिई रहेछ,,,,,,,,

यात्रा भरि, कैंयौ अँध्यारी रात
अनी पारिला घामसँगको
संघर्षमा शहिद बनेको,
चिहानस्ँगै मेटिएको
प्राण पखेरुले आफ्नो गन्तब्य
लिई आफैबाट सन्याँस लिएको
भु-गर्भ भित्र लिप्त कंकाल
भोकाको गाँसभित्र अटाउन
लागेको एक छेस्का मन,,,

स्वर्गाभिमुख सदृश
जिओग्राफि भित्र
हेरेसस आत्मा
जिओमेट्रीकल प्रोगेसनको
स्पीड धडकन धड्किरहेको छ
अँध्यारी भित्र एक्लै,,,,,,,

बिष्मातको भण्डार अटेस मटेस हुँदा
बामियान को बुद्द झैं आकृती बिहिन हुदै
बिबशताको छो-रोल्पाहरु
स्वीस क्रोनो भित्र टिक टिक गर्दै
यत्र तत्र छरपष्टिन्छन
चिच्याहटसँगै चोक्टा चोक्टा भएर,,,,,

त्यसैले म ,,,,,,,,
बौद्दिक्ताका भखारी ति बिद्वानहरुलाई
मौनब्रती अदालतमा पुनरुद्दारको
लाख दियो प्रज्वलित गरी,
मस्तिष्कको जस्केलामा
बिचलित मनको पृथककरण
र पुनरुत्पादन माग्दैछु,,,,।

कबिता


नरभक्षी......!


नर्क बिचमा छ यहाँ झिलिमिली,,,
त्यसैले हरेक साँझ यहाँ रंगिन्छन
ईन्द्रको स्वर्ग र यमेको यमलोक झैं
यहाँ ईन्द्रेहरु अप्सरासँग र सोमरस सँग
यमेहरु अबोध अनी अञ्जानका स्वाससँग
हरेक घडी-घडी, किचिन्छन, थिचिन्छन
अनी यहाँ पल पल लुछिन्छन
चौखुराईएको कैदी झैं अप्सराहरु
यहाँ मजबुर छन मरेर जिउन
यो झिलिमिली भित्र कुरुक्षेत्र छ
यहाँ समुन्द्र झै बगेका आँशु छन
चेरापुञ्जी झै आँशुले भिजेका
पाईलै पिच्छे लट्ठिएका देवता छन
यहाँ छाती चिर्ने टनाटन अस्त्रहरु छन
यहाँ एकले अर्काको शिकार गर्दै गरेको
ठुला ठुला नरभक्षी पशुहरु छन
त्यसैले त यहाँ मान्छेलाइ नङ्ग्याईन्छ
बङ्ग्याईन्छ, अनी मान्छेलाई नै खाईन्छ।
२५ आस्विन २०६४ / प्रकाशित रचना

कबिता


नारी तिम्रो कोख दोषी हैन


नारी तिम्रो कोख दोषी हैन
तिमी दोषी हैनौ, तिमीलाई
दोष दिने दुनियाँ दोषी छ
तिमीले जन्माएको सन्तानले नै
दोषी देख्छ तिमीलाई
तिमी कहिल्यै दोषी हुनै सक्दैनौ
राम्रो पक्षमात्र हेर्ने दुनियाँलाई
पनि तिमीलेनै जन्माएकी हौ
तिमीले थुप्रै सन्तान जन्माई सकेका छौ
तिम्रो कोखबाट थुप्रै
थुप्रै बुद्व, राम, जिसस, मोहम्मद,
मार्क्स, लेनिन, माओ, गेटे, दाँते, रबिन्द्रनाथ, गान्धी,
शुकरात, सम्पुर्ण छोराछोरी जन्मायौ आमा बनेर
छोराले मात्र दुनियाँ हाक्न नसक्दा
आङसाङ सुकी, बेनेजीर, एलीजाबेथ,
अनी थुप्रै शासक बनेर पनि उभियौ
थुप्रै राजामहाराजाहरु जन्मिए
बिद्वान, लेखक, बैज्ञानिक सबै तिम्रै देन हुन
परापुर्बकालदेखी जन्माउदै जन्माउदै
आएर पनि आजसम्म दोष पिएर बसेकी छौ
नराम्रोको भडखालमा जकडिएर बसेकी छौ
आफ्नै छोराहरुको दुख खप्न नसकी
टेरेसा बनेर पनि उभियौ, फ्लोरेंस
भएर पनि उभियौ, अनी निंदमा लुकेका
छोराहरुको लागी पासाङ ल्हामु भएर पनि उभियौ
गौरवमय सीता माता, प्रतिष्ठित भृकुटी भएर पनि
तिमीले नारी हुनुको थुप्रै उदाहरण
दि रहेकी छौ
त्यसैले तिम्रो कोख दोषी हैन
न त तिमी दोषी हौ,
दोषी त त्यो दुनियाँ छ
जसलाई परिबर्तनको चस्मा लाउनु छ।
[कबिता लेखिएको मिती २०६० भाद्र १५ गते मनामा बहराईन।]

कबिता

खै त जिबनको परिभाषा???

आँशुको सागर वा दु:खको महल
जिउँदो हुनुको एउटा रहस्य हो की
मृत्युको लागी गरिने एउटा पहल
जहाँजतीं हिँसा छ, आतंक छ
त्यहीं छ जिबन, समेटिएको
जहाँ छ भोक छ रोग छ त्यहिं छ
जिबन लपेटिएको, झपेटिएको
जहाँ आशा अनी कल्पना, सपना छ
त्यहिं छ जिबन अनी हरेक बिषमताहरु
जिबन छ सबै छ यहाँ नर्क छ यहाँ
स्वर्ग छ यहाँ, दैंत्य छन यहाँ
देवता छन यहाँ,पशु जस्तै मानव
र मानव जस्तै पशु सबैको आ-आफ्नै
जिबन छ यहाँ, के यहि हो जिबन?
कोई मर्न चाहने जिबन छन यहाँ
कोई युगौ युग जिउन खोज्ने जिबन छन यहाँ
हारसँग जीत र जीत सँग हार मागी
रहेका अन्धो जिबनहरु छन् यहाँ
पाईला-पाईलामा फूल रोप्ने जिबन
अनी शुल पनि रोप्ने जिबनहरु छन यहाँ
खै कस्ले दियो अर्थ जिबनको??
न रामायणले जिबन यहीं भन्न सक्यो
न गीताले न बाईबलले, न कुरानले
केवल जिबन त्यो अपरिभाषित रह्यो
यहाँ परिभाषित जिबन खै कहाँ?
बुद्वको परिभाषाले आज मेटिएको छ
अहिलेका बिद्वानहरु केवल पाना थप्न
यहाँ लागी परेका छन, केवल ,,,
अनी दार्शनिक खै त यहाँ असल दर्शन??
सबै परिभाषा खोज्दा खोज्दै
बाङ्गिएका टेंढिएका, लङ्गडो, अपाङ्गो
जिबनको अर्थ खोज्दा खोज्दै
दाह्री जुँगा फुले, माटोभित्र मिले
अहँ जिबनको परिभाषा खै कहाँ?
यहाँ जिबन जहिले अपरिभाषित रहेर
जहिले लाटो बुङ्गो रहनेछ, केवल
इशाराको भरमा चलिरहन्छ जिबन
मृत्यु देखी जिबनसम्म, जिबन देखी
मृत्यु सम्म केवल अपरिभाषित
अन्धो भएर, अनी अपरिभाषाको दह्रो
जेलमा कैद भएर, त्यो कहिले
देखा पर्ने छैन, जहिले जहिले
बन्द भएको छ, त्यसको परिभाषा
जनमकैदी भएर बसेको छ,
यहाँ जिबनको परिभाषा खोज्नेहरु
र लेख्नेहरु केवल ,,,,,,
आफ्ना इन्द्रजालमा पङ्गु बनाउन
खोजेका मात्र हुन, जिबन
जहिले तहिले अपरिभाषित भएर
रहनेछ, अपरिभाषित भएर रहनेछ।

कबिता


बिस्थापित सपना र कल्पना....!
मेरो कल्पना र मेरो सपना केवल कल्पना र सपनामा सिमित रह्यो,
कल्पना र सपनामा मुर्छित मन, त्यहिं मुर्छनामा छाती पिटी रोई रह्यो।
हरेक कल्पना र सपनामा बिषमताको खडेरी अभाव बनि बर्सी रह्यो,
म अन्योलतामा रुमल्लिएको यात्री झैं बिवशता सम्हाली रहें।
मैले देखेको खुशीको काल्पनिक संसार चेरापुञ्जी झैं रुझी रह्यो, रुझी रह्यो।
क्षण-क्षणमा टुक्रा टुक्रा बनाउने अभावको चट्ट्याङ परि रह्यो,
आफुभित्र समेटिएका कोलाहल मन भुखमरीले यत्रतत्र छटपटि रह्यो,
न मेरो सपना, कल्पना र चाहनाले सागर छुएको नदी बन्न सक्यो
न मेरो सपना र कल्पनाले कसैको हृदयलाई आत्मबल नै प्रदान गर्‍यो।
म केवल खुट्टा बिहिन अपाङ्ग झै, बैसाखीको खोजीमा भौतारी रहें
न कतै ति बैसाखी रुपी छालहरु म सम्म आईपुग्न सकें।
म बग्दा बग्दै, बालुवा बिचैमा हराएको त्यो खोला खहरे बन्न पुगें
न मैले गन्तब्य पैलाउन सकें, न म हुनुको अर्थ दिन सकें
म त केवल त्यो हरियालीको सुख पाउन खोज्दा खङ्ग-रङ्ग सुकेको रुख भएछु।
सपना र कल्पनाको पछि दौंडिदा दौडिंदै हार्न पुगेको एउटा धावक भएछु।

कबिता

समर्पण

तिम्रो मुस्कान स्वच्छ अनि मिठो
तिम्रो माया गाढा अनि अमृतरुपी
म हरेक तिम्रो जादुमा हराईरहन्छु
तिम्रो सम्पुर्ण अनुभुतीका स्पनदनहरुमा पाईरहन्छु

हरेक प्रभात तिमीलाई सम्झेर उठ्ने गर्छु
हरेक रातको निदरीमा तिमीलाई देख्ने गर्छु
अनी मलाई लाग्छ तिम्रै बाहुपासमा छु
मलाई लाग्छ तिम्रो हरेक स्वासमा छु

मलाई यस्तो महसुस पहिलो चोटी भयो
तिम्रै तस्बिर मेरो वरिपरि घुमिरह्यो,
अनी त मैले मेरो स्वास-प्रस्वास सुम्पीदिएँ
उप्रान्त मेरो जिबन तिम्रै नाम गरिदिएँ

कबिता


मेरी दिदीलाई सन्देश ..!

आफ्नै रहरबाट बेचिएकी छे मेरी दिदी,
आफ्नो चाहना अडिग मेरी दिदी,
आमाबुबाको कुरा वास्ता नगर्दा,
मेरो रुवाईको प्रबाह नगर्दा,
आज आफ्नै मुर्ख्याईको नसा पिरहेकी छे।
पराईको त्यो भुमी न कसैले सोध्ने
न कसैले खोज्ने उनलाई।
त्यहाँ केवल उनले गरेको कामको दाम
अनी नानीबाबुको सट्टामा च्ट्ट्याङ झैं
गाली गलौजको फोहराहरु।
अहिले आफैले आफैलाई धिक्कार्न बाहेक
उनको अर्को उपाय छैन त्यहाँ।
आफ्नो रहरको जञ्जीरले बेरिएकी
मेरी दिदी घरको ढिंडो र गुन्द्रुकले मत्तिएकी
मेरी दिदी, आज आँखा भरी आँशु लिएर
त्यो बिरानो शहरको मिठो जाउलो खाँदैछे।
यहाँ बस्दा आमालाई दंग्याएर लाढे पल्टिन्थी।
दशैं, तिहार, पालम, साकेवा,
रोधी सबै रंगीन बनी झल्किन्थी।
आज तिनैको सम्झनामा आँशुले मेटिएको
चिट्ठी लेख्छे मेरी दिदी।
म उनको त्यो मर्म बुझेर के गर्नु,
उनले दिएको आमाबुबालाई,
त्यो गहिरो पिर लाई म के गरौं?

न म कुदेर त्यहाँ पुग्न सक्छु,
न म उडेर त्यहाँ पुग्न सक्छु,
त्यसैले यो मेरी दिदीलाई छोटो सन्देश
दिदी, त्यो तिम्रो आँशुको मोलले
न कुनै खोला थुन्न सक्छ,
न आकाशको जुनतारा टिप्ननै,
त्यसैले फर्क दिदी यही तिमीले लत्याएको गाउँबेशीमा
तिमीले त्यो तिम्रो आँशुको मोलले किनेको
जाउलो भन्दा मिलिजुली पकाएको
त्यो तातो खोले मिठो छ।
तिमीले लगाउने त्यो बख्खु भन्दा
यहाँको फरियाचोलीमा सजिन्छौ
त्यागीदेऊ सबै ति तिम्रा खोक्रो अनि
अशिमित दुखी चाहनाहरु।
फर्केर आऊ, तिमीले टेकेको धर्तीले,
तिमीलाई नै स्वागत गरिरहेको छ।
अनी तिमीलाई जनम दिने आमा
अनी कर्म दिने बुबा र म तिम्रो
रक्षा गर्ने भाई सधैं सधैं तिम्रो,
स्वागतमा आँखा ओछ्याएर पर्खेका छौ,
तिमी फर्केर आऊ।

कबिता

जिउँदो अवशान !

धेरै महँगो रह्यो मेरो ईच्छा र सपनाहरु,
जो मेरो इच्छालाई एउटा कात्रोले टाल्न सक्दिन।
म इच्छा गर्छु, सपना देख्छु, अनि डुब्छु कल्पनामा
मेरो अथक प्रयास सबै साँगर बिच
थोप्लिएको आँशु झैं बिलिन भएर जान्छ।
म मेरो ईच्छाको लागी न कसैलाई चिथोर्न सक्छु,
न म मेरो सपनाको लागी कसैलाई गुहार्न नै,
म आफ्नो बाटो बिर्सिएर कहिं कतै
चौबाटोमा अलपत्रीएको एउटा यात्री,
ईच्छा नै ईच्छा अनि सपना भित्र हराएको
कालो कुहिरोभित्र काग झैं रुमल्लिएको,
नदीमा बाढी आउँदा, धमिलिएको पानी भित्र
बिचलित त्यो माछा झै, हुरीको लहराभित्र
हराएको चरी झैं, म आफ्नै ईच्छाको चिहानमा
पुरिएको एउटा जिउँदो अवशान हुँ।
म आशा बाट टाढिएको र
प्रतिक्षाको घडी नभएको स्वास हुँ।

कबिता

पाइतलाको पिंडा....!

आफ्नै बिवषताले बलत्कृत पाइतला
बिरक्तिएर तुषारिएको गल्लीमा भौतारिन्छ।
यत्रतत्र छरपष्टिएका तुषारोले
पाइतलामा सहबास गर्छ।
लाग्छ झुरिएको काँचमाथी पाइतला छ।
अनियन्त्रीत दिशामा पाईला लर्बराउँदै,
बर्षौ पुरानो शालिकले झै गरेर,
नाङ्गै लुग लुग काम्दै उभिएर
हुरी रोक्ने प्रार्थना गरिरहन्छ,
हुरी रोक्ने प्रार्थना गरिरहन्छ।
उसको पीडा मात्र तुषारो हैन,
कैयौं अनगिन्ती काँढाहरु पनि,
बुट्ट्यानमा लुकेर उसैको प्रतिक्षामा,
आफ्ना तिखो तिखो शक्तिको प्रदर्शनीको
पर्खाईमा लुकेर बसेका छन।
बिचरा! पाइतला, जहाँ गएपनि,
उसैको मार, उसैले समेट्नु पर्ने।
उता हरिया लेउ देखी लिएर हरेकौ
नगन्य हरुसँग ठक्कर खानु पर्छ।
त्यो पाइतला झैं संघर्षरत मस्तिष्क किन छैनन?
मस्तिष्कमा किन,
पाइतलाको दर्दहरु भरिन्दैनन?
शायद मस्तिष्क स्वार्थि छ,
शायद भावना मस्तिष्कको
बसमा छ, त्यसैले ति
पाइतला सम्म आइपुग्न सक्दैनन।
बिचरा पाइतला, उसले धर्ती छाम्नुको
ब्यथा, धर्ती चुम्नुको ब्यथा
आफैमा समाहित गरेर आज
स्वतन्त्रको लागी सास फेर्न खोज्दैछ।
पाइतलाको मर्म कहिले मस्तिष्कले
बुझ्ने हो? कहिले भावनामा बग्ने हो?
तै पनि ऊ छुटकारा पाउन प्रार्थना गरिरहन्छ।

कबिता



ठट्टै

भेटिनु र छुट्टिनेहरु छुट्टिन्छन,
यहाँ मृत्युपछि अवशेष हड्डी र मासु जस्तै।
मानवको जिबन यहाँ धेरै सस्तो भयो,
बरु बजारको सब्जी हिरामोती जस्तै।
बाँचुञ्जेल मै खाउँ मै लाउँ दुनियाँ ओगट्छन,
मरेपछि एउटा कात्रो र सिक्का चट्टै।
मुर्खै मुर्खको जमातमा कहिले आउने समानता?
निम्छरो र निमुखाको जिबन पनि ठट्टै।

कबिता


मेरो आमाको रहर...!

पिठ्युँमा डोको अनि डोको भरि
धेरै गह्रौं भार बोकी लौरोको सहारा
लिएर उकालिन्दैछिन मेरी आमा।
बेंशीको खेत र झुप्रो घर उनको
जिबन भरिको गन्तब्य भएको छ।
हरेक बिहान उनलाई सताउन
घाम लुकामारी खेल्दै,
देउराली डाँडा देखी उदाउँछ।
सेतै हिमालसरि फुलेका केशराशी
कोर्न नपाएर नागबेली परिसकेको,
अनि समुन्द्री छालका तरंग झैं
चाउरिएको मेरी आमाको अनुहार,
मन भरि चोट भएपनि मेरो सामु
बसाईं छोडेको घरको झ्याल जस्तै
त्यो फुक्लेको दाँत अनि मेरो
प्रेरणाको लागी उनी हाँस्ने गर्छिन।
म उनको त्यो हाँसोमा दुख अनि सुख
दुवैको सुस्केरा महसुस गर्छु।
गाईभैंसी अनि भेडाबाख्रा मात्र
देखेकी मेरी आमा कहिलेकाहीं
अनुरोध र ईच्छा प्रकट गर्छिन,
छोरा! तिमी जाने शहर त
सुनैसुनको दरबारले बनेको हुन्छ रे,
त्यहाँ चरा भन्दा छिटो उड्ने,
अनि बाघ भालु भन्दा छिटो कुदनेमा
चढ्छन रे, म निभ्नु भन्दा पहिले
सक्छौ भने एकपल्ट देखाउ है,
म पनि बैकुण्ठ बास लिन्छु होला
त्यो सबै देखें भने।
मेरी आमा, उनको गन्तब्य गाउँबेंशीमा
पुरै जिबन अर्पण गरिसकेकी
तिमीलाई के थाहा? हामी बस्ने
झुपडी भन्दा शान्त, त्यो शहर छैन,
तरै पनि म मेरी आमाको रहर,
त्यो रमाईलो शहर घुमाउने छु।
खोक्रो आडम्बरमा उभिएका त्यो
स्वर्ण दरबारहरु देखाउने छु।
अनि तिमी के महसुस गर्छौ
मलाई भन्नेछौ आमा,
यो शहर त केवलनामको मात्र शहर रहेछ भनेर।
शायद तिमी उकाली ओराली गर्दा
भेटेका तिम्रा साथीसंगी सँग
साल अनि भोर्लाको पातमा
बिंडी बेरेर दुख अनि सुखको
बात मारे जस्तो देख्ने छैनौ शहरमा,
देउरालीको बरपिपलको शितल अनि
बिसाउने चौतारी भेट्ने छैनौ शहरमा।
केवल निस्तेज पिरो धुवाँमा रुमल्लिएको
अनि मान्छे हिंड्ने गोरेटोमा
आगो नै आगोको लप्काहरु
भेट्नेछौ, तरै पनि मेरी आमा
तिमीले चाहेको त्यो शहर हेर्नै पर्छ।
म त्यो तिम्रो ईच्छा र आकंक्षा
अबस्य पुरा गर्ने छु आमा,
पुरा गर्नेछु।

कबिता


आउने छु फर्केर,,,,

कहाँ हुँदो रैछ दुखियाको सोंचे जस्तो जिबन,
ॠणपान गरी परदेशलागें भुलाउन यो मन,
कमाउन नसक्दा हरेक बोझले किचिन्छ झन,
घर सम्झ्यो प्रदेश हेर्‍यो जलिरहन्छ यो तन।
आउँछ होला याद मेरो एक्लै लेकबेंशी धाउँदा,
साथीभाई जोरीपारी मारुनी-झ्याउरे गित गाउँदा,
परदेश देखी कुम्लो बोकी छरछिमेकी घर आउँदा
मलाई सम्झी रुन्छौ होला सबैमा खुशीमा छाउँदा,
नरुनु प्यारी तिमी कहिल्यैपनि सम्झनामा चर्केर,
न मरी बाँचे कालै ले साँचे, आउनेछु फर्केर।

कबिता

आकाश तिमी नरोईदेऊ!

आकाश तिमी टाढा भएर के भो?
धर्तीमाताको लागी तिमी त छौ नजिक,
धर्तीमाताको हरेक क्षणलाई माया गर्छौ,
चाहे सुख्खा होस या जुनै अवस्था,
केवल तिमीले त हेरिदिन्छौ उसका
चाहनाहरु, पुछिदिन्छौ उसका आँशुहरु।
तिम्रो माया यहाँ अपरम्पार छ।
धर्तीमाता प्यासले छटपटिंदा
प्यास मेटाईदिन बर्षा बनी बर्सिदिन्छौ,
धर्तीमाता सुर्यको ताप खप्न नसके
प्रचण्ड सुर्यको तापलाई पनि
बादल पठाई छेकीदिन्छौ।
तिमीले रक्षा गरेको यो धर्तीमाता
आज कम्पित भईरहेकी छिन।
हरेक घडी धुवाँ, आगो, बारुदको
छिया-छिया परिरहेकीछिन।
अहिले तिमी पनि सोचीरहेका हौला,
के आफ्ना सन्तानहरुले आफ्नी
आमालाई यसरिनै गर्नु पर्ने भनेर,
लाग्छ होला जताततै
चट्ट्याङ खसाली सबै सखाप पार्न,
तर आकाश तिमी त्यो गर्न सक्दैनौ,
तिमीमा शक्ती छ,
तिम्रा बसमा छन अदम्य शक्तीहरु
तर तिमी चुपचाप सहन बाध्य छौ,
किनकी धर्तीमातालाई तिमी धेरै माया गर्छौ।
धर्तीमाता बाट सृजित सम्पुर्ण
प्राणी, जिबित वा निर्जीब सबैलाई
तिमी धेरै माया गर्छौ।
आज तिमी अबोध भएर
मौन रही केवल आँशु खसाली रहेछौ।
आकाश तिमी कहिल्यै निराशित नहुनु,
तिमी भन्दा फराकिलो को हुन सक्छ र?
तिम्रो जस्तो फराकिलो मन कस्को हुन सक्छ?
तिमी नरोऊ कहिल्यै,
तिम्रो आँशुले धर्तीमाता डुब्नेछिन
तिम्रा आँशुले धर्तीमाताका सन्तानहरु
बर्बाद हुनेछन।
तिमी मेरी धर्तीमाताको मुख हेरेर
नरोई देऊ,
तिम्रो रुवाइले धर्तीमाता
तिमी बाट सृजित समुन्द्रको
छातीभित्र हराउने छिन।
त्यसैले तिमीलाई बिन्ती गर्छु,
मेरी धर्तीमाताको लागी
आकाश तिमी नरोईदेऊ।

कबिता

नेपालआमाको लागी लडौं हामी

अब त बिहानी हुने बेला भयो,
सबै उठ जाग दाजुभाई-दिदीबहिनी,
कम्मर कस्ने बेला भयो।
पुर्वबाट सुर्यले रोशनी छर्दै निक्ल्यो,
उठ जाग यो देशका सपुतहरु
हाम्रा पुर्खाहरु नालापानी टिष्टा
काँगडा र तिब्बत सम्म पुगेथे रे ।
आज हामीपनि पुर्खाहरुको सम्मान गरौं।
छेउछाऊमा बैरीको चलखेल शुरु भयो रे,
पुर्खाको रगत र मासुले बनेको
जन्मभुमीको रक्षा गर्ने बेला भयो रे,
त्यसैले उठजाग नेपाली आमाका
बीर सन्तानहरु, हामी कमजोर छैनौ।
हाम्रा पुर्खाले छाडेका खुँडा, तरवार र
तिखा भाला चम्काउने बेला भयो।
सिमानाको रक्षार्थ बैरीको शिर छेदन
गर्ने बेला भयो।
उठजाग दिदीबहिनी-दाजुभाई
यो देशको रक्षार्थ लडौ हामी
देशको रक्षा गर्दागर्दै मर्नु परे मरौ हामी
हाम्रो एउटा सिंगो घरको रक्षा गरौ हामी।
नत्र हाम्रीआमाको श्राप लाग्ने छ
हामी हामी हुनुको कुनै औचित्य रहने छैन।
हामी हाम्रो मान र प्रतिष्ठाको लागी लडौं हामी
हाम्रो नेपालआमाको लागी मर्न परे मरौं हामी
सिमानामा बड्दै गरेको अचाक्लीलाई रोकौं हामी
अचाक्ली गर्नेको शिर छेदन गरौं,
नेपालआमाको लागी हामी लडौं,
हाम्रो ईज्जत र प्रतिष्ठाको लागी लडौं
यो देशको रक्षार्थ मर्नु परे मरौं हामी

कबिता

यस्तो एउटा सिनेमा हेर्दैछु,,,,,

हेर्ने सबै सिनेमा टिकट काटी
रंगीन पर्दामा हेर्छन, तर,, तर म
म यहाँ बाहिर खुला आकाशमुनी
नेपाल आमाको काख माथी
खुल्ला सिनेमा हेरी रहेको छु।
म यहाँ न पर्दाभित्रको झैं बियोगान्त
पछिको संयोगान्त मिठो कहानी छ,
न प्रेम कहानी मिलनका मिठा क्षण?
मैले हेरी रहेको सिनेमा त
केवल बियोगान्त नै बियोगान्त,
त्यसको यात्रा अनन्त छ।
त्यो सिनेमामा लाखौं नारीहरुको
सिंऊँदो पुछिएको छ र पुछिंदै आएको छ,
नौ जवानहरुको रगत मुछिएको छ,
तोतेबोलीका बालकहरु टुहुरिएका छन।
सम्पत्ती र बाँच्ने आधारहरु
जलाएर खरानी बनाई रित्याइएका छन।
न त यहाँ दया छ, न त माया नै,
यस्तो लाग्छ म हिटलरको सिनेमा हेरी रहेछु।
कहिं कतै शत्रुको कब्जा भित्र बन्दी
एउटा सिँपाही झै लाग्छ।
यहाँ बिकाशको कार्य हुन नपाउदै
सिधै पतन भएर जान्छ।
यहाँ बिकाश हुन बाट रोकिन्छ,
बिकाशका रकम भाग बन्डो गर्दा गर्दै सकिन्छ।
यहाँ सबै साम्राज्यबादी सम्राटको चम्ची
र बिस्तार बादीको पुच्छर बन्ने हरु छन।
यहाँ देशको समस्या उठाउन खोज्नेलाई
दासढुङ्गाको यात्रा गराई त्रीसुलीमा खसाईन्छ।
कमरेड चे ग्वेभारा झैं
एघार वटा लाश मुनी बिछ्याइन्छ।
कहिले संयोगान्तमा नफेरिने
एउटा यस्तो चलचित्र म हेरीरहेछु,
न त्यसको मध्यान्तर छ,
न समाप्ती नै।
Blog Widget by LinkWithin