"बिछोडको एन्निभर्सरी"
कान्छी! मैले कर्तब्यको भेलभित्र,
तिमीलाई कैद गरेर दु:खका जेलभित्र
पिरामिडको वल्लो पट्टि लागेको
आज बर्षौ भएछ।
हाम्रा बिछोडहरुले आज "एन्निभर्सरी"
मनाउँदा सुनामीले छोएको मन
तरंगहरुमा तरंगिदैछ।
केटेरो देखी
स्काईटचको यात्रासम्म
गोडा डुब्ने आहालदेखी
धर्ती डुब्ने सागरसम्म
तिम्रै सुबोधगम्य
ज्योतिमय अनि शुबासिलो
प्रणयको चिनो,
एक थुङ्गो बूकी फूल
च्यापेर
सगरमाथाको फेदीबाट
चेरापुञ्जीको दर्केझरी सम्म
चेरापुञ्जीदेखी खाडीको तातो छातीसम्म
तिमी आभाषमा
तिमी प्रस्वासमा
तिमी बिस्वासमा
अनि
त्यहिं बिस्वासलाई
मनको तुनामा बाँधेर
यहाँ क्याक्टस गोड्दैछु।
बाहिर बनोट आफ्नै जस्तो
कुहिएको गुदी र बिरानो बस्तीमा
रगतको मुल्यले जिबन भर्दैछु।
तसर्थ तिम्रो र मेरो
कल्पित फुजीशानहरुमा
ज्वालामुखीको प्रकोप पर्ने छैन।
भन्थ्यौ, गर्थ्यौ अनि रुन्थ्यौ
आग्रहका प्याला थमाउदै आँशुले भरेर।
म स्वत; स्फुर्त कहाँ छु र ति
पिरामिडी खुड्किलाहरु
लाखौं पल्ट
चढ्दै-ओर्लदै
ओर्लदै-उक्लदै
तसर्थ
यो परिक्रमा को अन्त्य
गरेर आउँदैछु।
न्याउली बिर्सैद गरेको
कोईलीले छोड्दै गरेको
त्यो हाम्रो प्रणयको सुन्दर मन्दिरमा
आउनेछु।
मेरो रगतले साटेको तिम्रो पर्खाई र
सुनौलो भोली लिएर मेडिटेरियन समुन्दको
किनारै किनार
सप्तगण्डकी हुँदै
सप्तकोशीको
तिरै तिर
अक्करै-अक्कर
लामा-लामा बगरहरुमा
टेकेर
जन्मेको धर्ती सुसुम्याउदै
आउनेछु,
एक खाङ्ग्रे हाम्रो न्यानो
अनि चोखो मायाको सौगात लिएर।
त्यहिं बाह्रबिसेको उकालोमा
सुस्केरा मार्दै
मायाको चिनो एक थुँगा बूकी फूल लिएर
अनि हृदयको पाटाभरि
सिउरेको पेरुङ्गोको पेरुङ्गो
मायाको साया लिएर।
मायाको साया लिएर।।
No comments:
Post a Comment