
शुरेस अधिकारी द्वारा गाइएको यो गित म सानै देखी सुन्थे अनि मनमनै गुनगुनाउथें। म अनभिज्ञ थिएं त्यति बेला मैले गुनगुनाएपनि, किनकी मलाई भावनामा बग्दा यो गितले के भनेको छ भनेर त्यति बेला लामो सोंचाई गर्दिन थे। रेडियो देखी बजेको ले म गुनगुनाउँथे।
आज अचानक मैले मेरो साथी सम्झे, जो ऊ बितेर गयो यहिं मरुभुमीमा, यो गितको बोल जस्तै उस्को जिबन भयो। हजारौं सपना बोकेर मरुभुमी सँगै छिरेका मध्य ऊ पनि हो। पुरानो घर संखुवासभाको माङतेवा गा. बि. स. पर्थ्यो भने हाल सुनसरीको महेन्द्र नगर चक्रघट्टी बाह्रघरे लाईनमा पर्छ। ऊ बिबाहित थियो, सानो छोरी मतलब जन्मेको एक साल पनि नहुदै परदेशिएको बुबा हो देब कुमार राई, म जहिले पनि देबु भनेर बोलाउथे किनकि उसको ब्यहोरा सानो बच्चाको जस्तो थियो, टी भि हेर्न धेरै रुचाउने भएकोले जहिले टी भि हेर्नमा ब्यस्त रहन्थ्यो, तर ऊ बास्तबिक्तामा एउटा बाबु थियो, ऊ सँग श्रीमति एबं दाईको आशा गर्ने भाईहरु थिए, उसको पारिवारिक बिबरण मलाई थाहा थियो र मेरो पारिवारिक बिबरण पनि उस्लाई थाहा थियो। भन्नै पर्दा हामी दाजुभाई भन्दा नजिक मिलेर बसेका थियौ, उसका भबिस्याका सारा सपनाहरु मलाई भन्ने गर्थ्यो। उसले गरेका मिठा मिठा कल्पनाहरु मलाई सुनाउथ्यो, यसरी दिनहरु बित्दै गए। अँग्रेजी महिना २००७ पनि लाग्यो, ऊ अनि कंपनीको मेनेजरसँग थोरै खटपट परेछ। हामी सँगै रहेपनि हाम्रो डिपार्टमेन्ट फरक फरक भएको कारण ऊ रातको डिउटी गर्थ्यो, म बिहानको, त्यसैले हाम्रो राम्रो गरेर भेट हुने भनेको त्यहिं [गूड फ्राइडे] शुक्रबारनै पर्खनु पर्थ्यो। यसरी ऊ र मेनेजरको खटपट ले गर्दा उसलाई कम्पनीमा बस्ने मनै गरेन। उसले रिसाईन पेपर दियो, कम्पनीले छाप मारेर ऊ नेपाल फर्किने भयो। मलाई लगायत धेरै साथीलाई नराम्रो लाग्यो, र हामीले भन्यौ यदी तिम्रो समस्या मेनेजरको हो भने हामी जी. एम. सँग कुरा गर्छौं नजाउ, भन्दा पनि हैन एकपल्ट मुखामुख भएपछि नराम्रो नै देख्छ म जान्छु भनेर भन्यो। सबै साथी अवाक भयौं किनकी ऊ सोझो मान्छे थियो। कम्पनीले बर्ष भरीको उत्कृष्ट कामदारको प्रमाणपत्र सम्म दिसकेको मान्छे आज एकै पटक उसले कम्पनीमा बसेर हजारौ सपना देखेको क्षतबिक्षत पारेर जाँदा म धेरै चकित परेको थिएँ अनि ऊ हामीलाई छाडी नेपाल फर्कियो। फर्केको केहि दिनमै नेपालबाट राम्रै सँग नेपाल अवतरण भएको भनेर फोनमा भनेको थियो। मैले पनि केहि जोकिङहरु गरिदिएँ ।
समय बितेको पनि थाहै नहुने उसले कम्पनी छाडेको पनि ५ महिना भैसकेछ। ऊ फेरि बिदेश आउने क्रममै गल्फनै आउने परेछ। मलाई भेट हुने भयो भनि खुशी लाग्यो अनि ऊ काठमाडौ बाट आइसकेपछि मलाई फोन गरेको रहेछ। तर मलाई डिउटीमा मोबाईल लान नपाईने हुनाले अफ गरेर राखेकोले कम्पनीकै साथीलाई भनी दिनु भनेर भनेको हुनाले मलाई साथीले डिउटी सकिन साथ मलाई भन्न आयो। मलाई धेरै खुशी लाग्यो। फेरी भेट हुनेभो भनेर, यसरी मुस्लिम चाड अनुसार ईदमा भेट्ने सल्लाह भयो। अरु साथीहरु अगाडीनै गएर भेटे म चाहीं ईदमा भेट्ने सल्लाह गरेर ईदलाई कुर्न थाले किनकी मेरो छुट्टिनै मिल्दैनथ्यो, यसरी ईदपनि आउन लाग्यो रमदानको महिना भरि कल गर्छु साथीले फोनै उठाउदैन, म छक्कै पर्न थालें किनकि म भन्दा ३५० किलो मिटर टाढा थियो ऊ, यसरि रमदान पनि अन्तिम दिन आज भोलिदेखि ईद शुरु हुने अनि मैले कतिपल्ट कोशिस गर्दा पनि उसको फोन नउठ्दा मैले उसको फुपाको नम्बर खोज तलास गरें खोजि हेर्दा भेट्टाएँ, हत्तपत्त फोन गरें फुपाले भन्नु भयो, बाबु तपाई को हो? मैले त चिनिन त, मैले भने म देबको पुरानो कम्पनीको साथी देब अहिले कहाँ छ, फुपा? किन फोन उठाउदैन उसको अर्को नम्बर भए मलाई दिनुस न। यसरि मैले लगतार प्रस्न गरेपछि फुपाले भन्नु भयो" बाबु देबले संसार छोडेको धेरै दिन भै सक्यो" आज त २५ दिन भयो। म झस्कन्छु, हैन तपाईं को बोल्नु भएको? के यो साँच्चिकै हो त? उहाँले प्रष्ट्याउँदै भन्नु भयो हो बाबु म उसको साख्य फुपा चन्द्र बोल्दैछु, त्यसपछि म आकश देखि खसे झैं लाग्न थाल्यो। म लगायत सम्पुर्ण साथीहरु जो जो नेपाली थियौं यो खबरले आँखा रसायो, हामी सबै भाव बिह्वल भयौं, किनकी ऊ हाम्रो कम्पनीमा धेरैनै मिलनसार एबं सबै सँग हाँसेर नै ब्यबहार गर्ने गर्थ्यो, उसँग हजारौ पिंडा भएपनि, कहिले पनि सानो तिनो बिमारलाई बिमार भन्दैनथ्यो। यसरी उसको त्यो खबरले गर्दा हामीले उसको नाममा २४ घण्टा पानी नपिएर उसको आत्माको चिर शान्तीको लागी ईस्वरसँग प्रार्थना गर्यौ।
"संबेदना शुन्य आत्मा नधुनुको पिंडा
रुन पनि नसकेर अझै नरुनुको पिंडा
काख रित्तै हुँदा पनि बिक्षिप्त भै बाँच्नु
भोग्नेलाई थाहा हुन्छ नहुनु को पिंडा।"
मलाई ऊ सँग बिताएका अनि ऊ ५ सालभरि मेरो एउटा रूममेट भएको कारण सजिलोसँग नजिक देखी चिनेको थिएँ। उसका हजारौं सपना थिए, उसको धेरै बाँच्ने रहर थियो, ऊ जहिलेपनि आफ्नो छोरीको पिर लि रहन्थ्यो, प्रत्येक पल्ट घरमा फोन गर्दा आफ्नी नाबलक छोरी सँग कुरा गर्नै पर्थ्यो। अनि ऊ बिमार हुँदा कहिले पनि घरमा सुनाउदैन थियो। ऊ एक पल्ट साह्रै बिरामी पर्यो र पनि घरमा कहिले सुनाएन, उसले भन्ने गर्थ्यो "हामी त तकलीफमा छौं भने किन घर परिवारलाई ब्यर्थ तकलीफ दिनु" उसको यो भनाई अहिले सम्म गुञ्जी रहन्छ।
हो हामी आफ्नो दुखलाई सँगालेर टाढा आउछौं केही गरिन्छकी भनेर तर हामीले यहाँ आएर थोरैले मात्र आफ्नो सपना पुरा गर्ने गरेको पाईन्छ, बाँकी सबै त्यो खाल्डोमा डुब्न पुगिरहेका छौं जुन, कोइ मुटु सम्बन्धी रोग कोइ दुइटै किड्नी फेल कोइ टी बी कोइ लाशै बनेर काठको बाकसमा फर्किरहेका छौं। हामी हिमाली छोरा छोरी, हरियाली हाम्रो प्राकृतिक देन, हामीलाई त्यहिं बानी परेको हुनाले यो खाडी मुलुकमा केवल मरुटट मा उभिंदा निस्ससिएको महसुस गर्छौं र निस्सासिन पुग्छौं र यसरी मेरो साथी देब जस्तै बेलुकी सुतेको बिहान हेर्दा सदाको लागी सुतीरहेको भेट्छौ। यदी हाम्रो लागी पनि सरकारले केहि गर्ने अवसर दिने भएको भए यो मरुटटमा जिबन अर्पण गर्नु पर्दैनथ्यो। नेपाली युवाहरुले बिदेशी भुमीलाई आफ्नो कर्मथलो बनाईरहन पर्दैनथ्यो। आज नेपाली युवाहरुले जुन दुर्गती भोगीरहेकाछौ। के यो निरन्तर रुपमै चलिरहन्छ त? के सरकारले यी युवाहरुको लागी केहि पनि शु-अवसर दिन सक्दैन त?? यी प्रस्नहरु अहिले तगारोको रुपमै रहन्छन जहिले सम्म यसको समाधनको उपाय नअप्नाए सम्म। सरकारले त्यो शब्द खप्नै पर्छ, जब सम्म बेरोजगारीको निर्मुल हुदैन, यदी हाम्रोनै देशले नयाँ कारखाना नयाँ सिपमुलक काम ल्याएर बिदेशी बजारमा नेपाली समानहरु पुर्याउन पाए कति नेपालीले बिदेश गैरहन पर्दैनथ्यो अनि अर्काको नराम्रो तितो बचन पिउँदै बाँच्न पर्दैनथ्यो। नेपालीहरु मेची कालीको गित र सम्झना गर्दै मरुभुमीमा जिन्दगी खोजीरहेका छन। प्रत्येक चुनाव सँगै नयाँ नयाँ सपना देखाइन्छन, नयाँ नयाँ आशा र बिस्वास दिलाईन्छन, तर भोली हकिकतमा एउटा दन्त्यकथा, केवल दन्त्यकथा।









