कबिता


बिस्थापित सपना र कल्पना....!
मेरो कल्पना र मेरो सपना केवल कल्पना र सपनामा सिमित रह्यो,
कल्पना र सपनामा मुर्छित मन, त्यहिं मुर्छनामा छाती पिटी रोई रह्यो।
हरेक कल्पना र सपनामा बिषमताको खडेरी अभाव बनि बर्सी रह्यो,
म अन्योलतामा रुमल्लिएको यात्री झैं बिवशता सम्हाली रहें।
मैले देखेको खुशीको काल्पनिक संसार चेरापुञ्जी झैं रुझी रह्यो, रुझी रह्यो।
क्षण-क्षणमा टुक्रा टुक्रा बनाउने अभावको चट्ट्याङ परि रह्यो,
आफुभित्र समेटिएका कोलाहल मन भुखमरीले यत्रतत्र छटपटि रह्यो,
न मेरो सपना, कल्पना र चाहनाले सागर छुएको नदी बन्न सक्यो
न मेरो सपना र कल्पनाले कसैको हृदयलाई आत्मबल नै प्रदान गर्‍यो।
म केवल खुट्टा बिहिन अपाङ्ग झै, बैसाखीको खोजीमा भौतारी रहें
न कतै ति बैसाखी रुपी छालहरु म सम्म आईपुग्न सकें।
म बग्दा बग्दै, बालुवा बिचैमा हराएको त्यो खोला खहरे बन्न पुगें
न मैले गन्तब्य पैलाउन सकें, न म हुनुको अर्थ दिन सकें
म त केवल त्यो हरियालीको सुख पाउन खोज्दा खङ्ग-रङ्ग सुकेको रुख भएछु।
सपना र कल्पनाको पछि दौंडिदा दौडिंदै हार्न पुगेको एउटा धावक भएछु।

कबिता


फोहोरी उन्माद....!

यहाँ खुशीका नाममा गन्तब्य भुले पछि
ब्यथा बोकी भौतारिन्छन नतमष्तक जवानीहरु
सिंङ्गै नदी निल्दा सम्म अतृप्त छन
ति अग्ला हिमगिरीले नछेकिने कहानीहरु
फोहोरका डंगुर झैं बनाउदै जान्छन आफ्ना जिबनीहरु
यहाँ कागजको कुनै औचित्य छैन,
क्षणिकतामै पोतिन्छन लिलामी दस्तावेजहरु
सडकहरुमा यत्रतत्र रंग बिहिन अनी
सबै मस्तिष्कमा घृणित छापाखाना बनेर
कति गहन अनी बहन गर्छन आफ्नो
अदम्य शाहसहरुलाई ति चार पर्खालको
बिचमा कालो रातको सहारा लिएर
भबिस्य सिङ्गो नाङ्गिन्छ उज्यालोमा
पछुतोको निलडाम अनी बदनामीको दाग भएर
त्यसैले बैंशले मात्तिएका ए कुखुरे हो
आफ्नो फोहोर फाले पछि कन्टेनरको
मुख बन्द गर, तिमीहरुको फोहोरको
गन्धले यहाँ शहरहरु बस्तीहरु सबै
दुर्गन्धित भएका छन, अनी स्वास लिनै
धौ धौ परिरहेछ, यहाँका गल्लीहरु
त्यसैले यो तिमीहरुको उन्मादिलो बाहिरै
पोखिहिंड्ने फोहोरी जवानी मेटासिड पिएर
मेटाइदेऊ, तिमी मर्दा फेरी फेरी
तिम्रा फोहोरी उन्मादले यहाँ ठाउँ जमाउने छैन।

कबिता

समर्पण

तिम्रो मुस्कान स्वच्छ अनि मिठो
तिम्रो माया गाढा अनि अमृतरुपी
म हरेक तिम्रो जादुमा हराईरहन्छु
तिम्रो सम्पुर्ण अनुभुतीका स्पनदनहरुमा पाईरहन्छु

हरेक प्रभात तिमीलाई सम्झेर उठ्ने गर्छु
हरेक रातको निदरीमा तिमीलाई देख्ने गर्छु
अनी मलाई लाग्छ तिम्रै बाहुपासमा छु
मलाई लाग्छ तिम्रो हरेक स्वासमा छु

मलाई यस्तो महसुस पहिलो चोटी भयो
तिम्रै तस्बिर मेरो वरिपरि घुमिरह्यो,
अनी त मैले मेरो स्वास-प्रस्वास सुम्पीदिएँ
उप्रान्त मेरो जिबन तिम्रै नाम गरिदिएँ

गिती कबिता


आफैलाई कहाँ लगेर बगाउँ?

म तिम्रो नजरबाट फ्याँकिएको मान्छे हुँ,
म आफैलाई खोज्न कहाँ जाउँ।
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मान्छे हुँ अरु जस्तै गल्ति त हुँदोरैछ,
आफ्नैले पराई ठानी फ्याँकेपछि मन धेरै रुँदोरैछ।
बाटो पनि बन्द भयो उनीसम्म पुग्ने मेरो,
सम्झना भने सधै रह्यो उनकै सेरोफेरो।
टुक्रेको मुटु लिई अब म कता जाउँ?
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मलाई छोडी उनी सुखी बनी हाँस्छिन भने
स्वीकार्य छ, जहाँ जाउन खुशीसँग बाँच्छिन भने,
म नै जिउँला बेदनाको सबै पोका पारी,
भिरि दिउँला जुनीभरी दुखका सबै भारी।
आँशु लिएर जाँदैछहु खुशी बनी तिमी रमाउ
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

कबिता


बुबा!

बुबा!
कतै तिम्रा सन्तानहरुको मायाबाट
ओझेलिएका त छैनौ, तिमी?
सबैले आमा सम्झिदा आमासँगै
लहरिने बुबालाई बिर्सिंदा, तिमीलाई
पिंडाले भतभती पोलेको त छैन?
लाग्दो हो तिमीलाई, मैले कहिल्यै माया
मेरो सन्तानलाई दिन सकेनछु ताकी
आज म मेरै सन्तानको माया बाट,
सम्झना बाट क्षितिज भित्र थुनिएको छु।
लाग्दोहोला कहिलेकाहीं तिमीले गरेका
सबै दुख तिम्रा सन्तानहरुले देखेनन।
लाग्दो होला तिमीले एकान्तमा रुएका
आँशुहरु कसैले देखेनन अनी तिम्रा
ति फोका उठेका हातका निशानीहरु
तिम्रा सन्तानले देखेनन, लाग्दो होला
कतै तिमी एक्लै त छुईन यहाँ भनेर,
सुम्सुम्याउदो होलाउ तिम्रो पिल्सिएको
पिठ्युँ, अनी तिम्रा तालुहरु जहाँ
सन्तानको भारले किचिएका,
अनी पटक पटक कर्तब्य बोक्नुको पिंडा,
त्यसै त्यसै छटपटी हुँदोहोला,
डाको छोडी रोऊँ भने हुतीहारा भन्ने डर,
नरोऊँ भने आज बैंशले डाँडा काट्दा
सन्तानहरुले आमा च्यापी बिर्सिंदाको
पलहरु तिमीलाई धेरै दुख्दो हो,
तिम्रा ति पाईतलाहरुमा अझै
ति तिखा काँढाको डोबहरु होलान,
हिंजो सन्ताहरुको लागी त्यो उकालो ओरालो
अनि भञ्ज्याङ चौतारी गर्दै
बिताएका क्षणहरु कतै तिम्रा
ति मस्तिष्कमा कालोबादल झैं
मडारिएका त छैनन?
तर,,,, तर,,,,
यदी तिमी यी सोंचहरु सँग
निस्सासिएका छौ भने,
अनी यी कालामन सँग आत्तिएका छौ भने,
आजै त्यागी देऊ सबै ति तिम्रा
शंकाहरु, तिम्रा सन्तानहरु तिम्रा लागी
मात्र मौन छन, तर तिम्रो महत्व
त्यहाँ छ, स्वास र जिबन झैं
तिम्रा सन्तानहरु तिमी बिना
अनी तिमी तिम्रा सन्तान बिना
कहिल्यै कहिल्यै पुरा हुन सक्दैनौ।
तिमीलाई मौनतामा छोडेर कहिल्यै
भाग्न सक्दैनन तिम्रा सन्तानहरु,
उनीहरुलाई थाहा छ, तिमीले दिएको ओतहरु
तिमीले पिएका चोटहरु, अनी तिमीले मेटाएका
दुखका खोटहरु, तिमी त्यो अँध्यारो जलिरहने
एउटा दीप हौ, मोतीको उज्यालो केवल
अँध्यारोमा देखिन्छ रे, तिमी त्यो मोती हौ,
जुन युगौंयुग असल पिता बनेर उभिएका छौ
नि-सन्देह, नि-संकोच अटल सगरमाथा झैं
अटल हिमालय झैं

समय सन्दर्भ



मेरो हजुरआमाको डाइरीबाट...........!

"घुरुमा घुरु परेवी घुर्‍यो बार्दली कौसीमा,
९० है सालमा भुँईचालो गयो सोमबारे औंसीमा"

यो सानो टुक्रा हाम्रा बाजेबराजुले जुहारी गीत गाउँदा कहिलेकाहीं प्रयोग गरेको सुन्थे,हाम्रा पुर्खाहरुले सम्झेको क्षण ९० सालको भुँईचालो अनि त्यो सोमबारे औंसी बुढापाकाहरु सम्झिरहन्छन, शायद त्यो डर लाग्दो नै थियो र दुखदायी पनि त्यसैले सम्झिरहन्छन। त्यस्तै २०४५ सालमा पनि भएको थियो। तर पनि मान्छेहरु बाँचे अनी हाम्रा पुर्खाहरु बाँचे,यो जुहारीमा शान्तीको दुत परेवीको बयान र उनको संकेत र उनको संकेत घर बार्दली कौसीको बयान छ। अचेल परेवीहरु, ति शान्तीका दुतहरु सितन भुटन भएरै होला शायद त्यो कौसी शुन्य रहन्छ, अनि त्यहाँ न परेवी घुर्छ न सोमबारे औसी नै पर्खिनु पर्छ, यहाँ हरेक क्षण हरेक घडी भुँईचालोले क्षतिग्रस्त अनी मानव समबेदनाको यहाँ केहि चासो छैन। शान्तीकी दुत परेवी त घुर्न आउनै छोडिन त्यस्तै सोमबारे औंसी पनि हामी बाट हरायो। अब त केवल औंसी बिहिन नियम बिनाका कालरात्रीले यहाँ हरेक समय लुटिरहेको अवस्था छ यहाँ। हेरकको खप्परमा कालको त्रीशुल घुमिरहेको छ। अशान्तीको सन्देश दिने काला काला कागहरु गिद्वहरु घुमिरहेका छन। मानिस नै महिसासुर बनेर मानिसलाई झम्टी रहेको अवस्था हो यो। म सानो छँदा आमा सँग बिहानी सबेरै पानी भर्न पधेरो जाँदा बिहानी प्रहर ताराहरु धर्ती चुम्न झिलिलि गर्दै भुँईसम्म आइपुग्थे, आमाले भन्नु हुन्थ्यो नानी हेर तिमीलाई हेर्न तारा पनि तिम्रो नजिक आउन खोज्दैछ, तिमीलाई धेरै काम गरेको देखेर तारा खुशी भएर तिम्रै नजिक स्याबासी दिन आउँदैछन भनेर भन्नु हुन्थ्यो, बिहानीको भालेको डाक पाछिको क्षण कति रमाइलो, रहन्थ्यो, मिर्मिरे उज्यालो सँगैको त्यो क्षणहरु, अचेल यसरी मिर्मिरेमा काम गर्नु जानु भनेको सिधै घाईंते बाघको मुखमा जानु, अनी ति पहिलेका आमा सँगै पानीपधेरी गर्दा झिलिलि गर्ने ताराहरु हराईसके, त्यतिबेला आकाश बाट खस्थे झिलिलिलि,,,,, अहिले धर्तीबाट आकशतिर झिलिलिलि,,, कस्तो बिडम्बना नयाँ युगको नयाँ तमासा,,,,,,।मलाई मेरी हजुरआमाले सधैं भन्नु हुन्थ्यो उहिलेका कुराहरु, उखानहरु टुक्काहरु, बिभिन्न दैत्यका कथाहरु,,,, दैत्यले देवतालाई दुख दिएको यस्तै कथाहरु भनिरहनु हुन्थ्यो,,, म सुनीरहन्थे,,, एउटा कुरा पनि भन्नु हुन्थ्यो सुनेको कुरा त भोग्नु पर्छ रे भनेर अहिले साँच्चीकै दाह्रा बिहिन दैंत्यहरु वरिपरि घुम्दा होकी जस्तो पनि लाग्छ। म conservative mind को पिछा गर्ने खालको त हैन तरै पनि यस्ताकुरालाई नियाल्ने गर्छु, कतै त्यहिं रुढीबाद भित्र पनि केहि समेटिएका पो छनकी, कतै केहि सत्यता पो लुकेको छ कि भनेर। त्यहि पुराना युगको को भनौ हाम्रा बाजे बराजुको पालाको कुरालाई नियाल्दैछु र भिन्नता छुट्ट्याउन खोज्दैछु, कति फरक छ त उहिले र अहिलेमा? हाम्रा बाजेबराजुहरु १४-१५ दिन लागाएर नेपाल शहर [काठमाडौ] पुग्थे रे। बाटोमा हिंड्दा बाघ भालुको बाहेक केही चिन्ता हुन्नथ्यो रे, बाटोभरि बडो रमाईलो गर्दै जान्थे रे,कोई भेट्यो भने साथी भाई भैहाल्थे रे,त्यति बेला सवारी साधन नभएर पनि यसरी जिबन यापन रमाइलो गरेर बिताएका थिए रे, अहिले हामिलाई उड्ने गुड्ने मान्चेह् भन्दा हजारौ, लाखौं गुना छिटो हिड्ने र उड्ने भएर पनि हामी त्यहिं उहिलेको अवस्था मा भन्दा पनि दुखदायी अवस्थामा छौं, किन? कसबाट? कसरी? यो प्रस्नको समाधान कहिले हुनवाला छैन।घर देखी राजधानी बिशेष काममा हिंड्यौ भने छिटो पुग्न बसमा चढेर जानु पर्ने हुन्छ। हामी गरीब निम्छरो, र न्युन आय भएको ब्यक्तीले हवाईजहाज चढ्न त के छेऊमा गएर उभिदा पनि हामीलाई आतंककारीको उपनाम लाग्छ। हुनेखानेहरुलाई त त्यो अवस्था कहिले आउँदैन, किनकी चक्काजाम भएनी एम्बुलेन्स छँदैछ, गरीब बिरामी परेर लाने टाँगा रोकिन्छ तर ठुलाठालुलाई स्वस्थ्य नै भएर पनि एम्बुलेन्सको दुरुपयोग गरिन्छ। यहाँ घुन झैं पिसिने को रहेछन त? अब रह्यो उहिले १४-१५ दिन लाग्ने राजधानीको यात्रा अहिले पनि हुरुरुरुरुरुर्‍ कुदने बसमा त्यतिनै दिन लाग्दैछ। अलि पर गयो कसैको गाईभैसी ले बाली खायो चक्काजाम, हुनेखानेको कुकुर किचेर मर्‍यो चक्काजाम कुन चाहिं नेतालाई कुर्सी मिलेन चक्काजाम, तोडफोड आगजनी अब उहिले बाघ भालु सँग डराउँथे भने अहिले मान्छेले मान्छेलाई डराउनु पर्ने। यहिं चक्काजाम फस्दा फस्दै काठमाडौ पुगिने होकि माथीनै पुगिने हो, केहि थाहा हुन्न, काठमाडौ भन्दा माथी पुगिने प्रबल सम्भावना धेरै रहन्छ, राजधानी यात्रामा। आज भन्दा डेढ बर्ष अघी होला २००८ नोवेम्बर ३-४ तारिख तिर राजधानी लागें बिच बाटोमा झण्डै १२-१५ वटा भन्दा धेरै पार्टीको बन्द आह्वान लाई समेट्दै जानु पर्‍यो। त्यति बिचमा कति बसहरु जले यात्रीका सबै दुख गरि कमाएर ल्याएको सबै सम्पत्ती स्वाहा, बिदेश बाट आउँदै गरेका लगेजहरुको धुवाँले आकाशनै छुईरहेको थियो, जंगल बिचमा लगाइएको लाम बसहरु लुट्नेकाम अनि सबै कुराहरु भैरहेको पनि त्यति नै बेला थाहा पाईयो। अर्काको दुखको धन सोहरेर टन्न बन्दुक भिरेर लुट्न पल्केका साँढेहरु पनि देखियो, तर सबैमा मौनता थियो, अपहरित कैदी झैं त्यो जंगलहरुमा भोकै झण्डै ७ दिन पछि काठमाडौ पुगेको त्यो क्षण कहिलेपनि भुल्दिन। मान्छे बिग्रे पछि, कुबिचारले जरा गाडेपछि त्यो साँच्चीकै कुहिएको भन्दा नि अझै खत्तमनै हुँदोरहेछ, न उ सँग दयाको सिमा रहन्छ, न उसमा मानवताको खोलनै, केवल अहंकार अनी उसमा मृत्युको सवार। यसमा कसलाई दोषी ठान्ने? सबै मान्छे नै छौ? त्यो पनि सबै नेपालीनै छौं,अब हामीले नै आफ्नो कर्तब्य बुझ्दैनौ भने त कसलाई दोष् दिनु र, कसलाई यहाँ गुहार्नु र? यहाँ मान्छेले मान्छेलाई झम्टिंदा, मान्छेले मान्छेलाई पहरा दिनुपर्ने कस्तो बिडम्बना? उहिलेकोका हाम्रा पुर्वजहरु मिलेर बस्थे रे, ८४ ब्यञ्जनको भोज लाग्थ्यो रे त्यतिबेला एकार्कामा भेट हुँदा, मादल, सारङ्गी, बिनायो, मुर्चुङ्गा बज्थे रे, बन जंगलमा बासुरी को धुनमा मयुर नाच्थे रे, घाँसदाउरा गर्दानि भोक तिर्खै बिर्सिने जुहारी पर्थ्यो रे हाम्रा हजुरबा हजुरआमाहरुको, अहिले त जंगलमा घाँस दाउरा त मेरी बास्सै यमराजको दरबारमा सिधै छिर्नु जस्तो भा छ। बन जंगल घास दाउरा लिन जाने वल्लाघरे पल्लाघरे दाई दिदीहरु आमाहरु बुबाहरु बिद्रोही कि आतंककारी भएका छन घाँसको भारी दाउराको भारी बोक्दा बोक्दै आफ्नो अमुल्य जिन्दगीलाई बन्दुकको निशानी बनाएका छन, युगौं नमेटिने कस्तो रोग लागेको हो, यसको उपचार कैयौं आमाबुबा दाजुभाई अनी दिदीबहिनीहरुले आफ्नो जिबनको बली चढाउँदा पनि निको नहुने, बिहान बेलुका बनीबुतो गरेर जिबन यापन गर्ने दिदीबहिनीहरुले सोझा निमुखा जनताले खोला का खोला रगत बगाउँदा सम्म कहिल्यै जाती नहुने घाउ नेपाललाई लागेको छ। यहाँ हामीले देउता भनेर पुजिने देवताहरुले नै हाम्रो आस्थाको बलत्कार गरेका छन। जनताले दिएको देश प्रतीको योगदानको कदर बिर्सी आफ्नो दुनोको लागी अरु शहिद बनाउन जुटेका जुटै छन। मलाई एकजना कबियत्रीको सुलोचना मानन्धर धिताल याद आयो

युद्व छ
त्यसैले अनिकाल छ
अनिकालमा मान्छे पनि बेचिन्छ रे
मान्छेनै बाँकी नरहेपछि
युद्व स्वयं बेचिन्छ कि?

त्यसैले,,,,,
अमान्छे हो,
युद्वलाई बाँकी राख
मान्छे जातीको नै मृत्यु भएपछि
बेचेर खान काम लाग्छ!

म पनि कबियत्रीलाई समर्थन जनाउन चाहन्छु, सही कुरो जहाँ युद्व छ अबस्य त्यहाँ के हुदैन,,,,,,,? अबस्य सबै आपतकालिन अवस्थाका भलपहिरो उर्लिरहन्छ। जब सम्म मानवमा मानवताको पहिचान हुदैन, जब सम्म मान्छेले आफ्नो महत्व आफुले बुझ्दैन तब सम्म सबै कुरा रहिरहन्छ एउटा बिनाश भएर।

अस्तु!

[मेरी हजुरआमाले भर्नु भएको मेरो खोपडीको डाईरीमा यति अटेछन, लेखी हालें यदी गल्ती भएमा माफ गर्नुहोला।]

कबिता


मेरी दिदीलाई सन्देश ..!

आफ्नै रहरबाट बेचिएकी छे मेरी दिदी,
आफ्नो चाहना अडिग मेरी दिदी,
आमाबुबाको कुरा वास्ता नगर्दा,
मेरो रुवाईको प्रबाह नगर्दा,
आज आफ्नै मुर्ख्याईको नसा पिरहेकी छे।
पराईको त्यो भुमी न कसैले सोध्ने
न कसैले खोज्ने उनलाई।
त्यहाँ केवल उनले गरेको कामको दाम
अनी नानीबाबुको सट्टामा च्ट्ट्याङ झैं
गाली गलौजको फोहराहरु।
अहिले आफैले आफैलाई धिक्कार्न बाहेक
उनको अर्को उपाय छैन त्यहाँ।
आफ्नो रहरको जञ्जीरले बेरिएकी
मेरी दिदी घरको ढिंडो र गुन्द्रुकले मत्तिएकी
मेरी दिदी, आज आँखा भरी आँशु लिएर
त्यो बिरानो शहरको मिठो जाउलो खाँदैछे।
यहाँ बस्दा आमालाई दंग्याएर लाढे पल्टिन्थी।
दशैं, तिहार, पालम, साकेवा,
रोधी सबै रंगीन बनी झल्किन्थी।
आज तिनैको सम्झनामा आँशुले मेटिएको
चिट्ठी लेख्छे मेरी दिदी।
म उनको त्यो मर्म बुझेर के गर्नु,
उनले दिएको आमाबुबालाई,
त्यो गहिरो पिर लाई म के गरौं?

न म कुदेर त्यहाँ पुग्न सक्छु,
न म उडेर त्यहाँ पुग्न सक्छु,
त्यसैले यो मेरी दिदीलाई छोटो सन्देश
दिदी, त्यो तिम्रो आँशुको मोलले
न कुनै खोला थुन्न सक्छ,
न आकाशको जुनतारा टिप्ननै,
त्यसैले फर्क दिदी यही तिमीले लत्याएको गाउँबेशीमा
तिमीले त्यो तिम्रो आँशुको मोलले किनेको
जाउलो भन्दा मिलिजुली पकाएको
त्यो तातो खोले मिठो छ।
तिमीले लगाउने त्यो बख्खु भन्दा
यहाँको फरियाचोलीमा सजिन्छौ
त्यागीदेऊ सबै ति तिम्रा खोक्रो अनि
अशिमित दुखी चाहनाहरु।
फर्केर आऊ, तिमीले टेकेको धर्तीले,
तिमीलाई नै स्वागत गरिरहेको छ।
अनी तिमीलाई जनम दिने आमा
अनी कर्म दिने बुबा र म तिम्रो
रक्षा गर्ने भाई सधैं सधैं तिम्रो,
स्वागतमा आँखा ओछ्याएर पर्खेका छौ,
तिमी फर्केर आऊ।

नयाँ बर्षको शुभकामना !!!

मेरा सम्पुर्ण शुभचिन्तक एवं शाहित्यकार मित्रहरु गणेश खड्का आयरलैण्ड, एल बी प्रधान कोरिया,जय छाङ्छा नयाँ दिल्ली भारत, अर्जुन दुङमेन राई ईराक, इन्द्र सुनुवार ईमिरेट्स, समादर्सी काईंला ईमिरेट्स, गोपाल राई ईङ्गलैण्ड, कबिराज राई नेपाल, छक्कु उदाशी जापान, बसन्त गौतम जापान, अनुज कुलुङ पोखरा नेपाल, मिना बान्तवा इजरायल, गीता थापा ईजरायल, मनु लोहरुङ ईजरायल, शशी थापा सुब्बा हङ्कङ, लोजर घिसिङ नेपाल,मनु ठाडा मगर ईङ्गलैण्ड,कैलाश राई नेपाल, दुम्माली दाई चन्द्र नेपाल,सुजन शर्मा, सुर्य प्रसाद न्यौपाने साउदी, खगेन्द्र खिलाफी कतार, संगम बान्तवा साउदी, इन्द्र पुन साउदी, चकेन्द्र राई कैदी कतार, रकम धोज राई कतार, दिलिप योञ्जन टेक्सास अमेरिका,योगेन्द्र भाई मलेशिया, दीपेन्द्र कुमार झा जापान, एकल यात्री ज्यु, दुर्जेय चेतना, अशेस, फेसबूकमा हुनुहुने मित्रहरु, खगेन्द्र पन्धाक, सीमा आभस, शान्ता झाक्री, आशंक उपाध्यय,आशा गुरुङ,बिक्रम सुब्बा, शुशिला लामा, लगायत सम्पूर्ण मेरो चिरपरिचित इष्ट मित्रहरु तपाईहरुमा यो नयाँ बर्षले नयाँ-नयाँ जोस अनि जाँगर प्रदान गरोस, तिता बिगतलाई २००९ले सोहोरेर लैजाओस अनि नयाँ नयाँ प्रगतीको पालुवा पलाओस यही छ २०१०को तपाईंहरुमा हार्दिक हार्दिक मंगलमय शुभकामना।

तपाईंहरुकै
बि जे बान्तवा राई

गजल

उनले दिएको फूलसँगै रोएँ.....

म त कहिले उनले दिएको फूलसँगै रोएँ।
धोका दिन्न भनि उनले बाँध्या पुलसँगै रोएँ।

पाउनु मात्र हैन हराउनु नि माया भन्थे
हराउँदा जमेको आँशुको सबै मुलसँगै रोएँ।

साँचो प्रेम कहिल्यै बिछोड हुन्न भन्थे
बिछोडिएर तडपिरहेको सबै हुल सँगै रोएँ।

हरेक दुखाईको एउटै मल्हम माया हुन्छ भन्थे
त्यहीं मायाले मुटुमा हानेको सबै शुल सँगै रोएँ।

माया-प्रेममा मान्छे अन्धोयात्री हुन्छ भन्थे
अन्योलमा परि जिन्दगीमा गरेको भुल् सँगै रोएँ।

कबिता

जिउँदो अवशान !

धेरै महँगो रह्यो मेरो ईच्छा र सपनाहरु,
जो मेरो इच्छालाई एउटा कात्रोले टाल्न सक्दिन।
म इच्छा गर्छु, सपना देख्छु, अनि डुब्छु कल्पनामा
मेरो अथक प्रयास सबै साँगर बिच
थोप्लिएको आँशु झैं बिलिन भएर जान्छ।
म मेरो ईच्छाको लागी न कसैलाई चिथोर्न सक्छु,
न म मेरो सपनाको लागी कसैलाई गुहार्न नै,
म आफ्नो बाटो बिर्सिएर कहिं कतै
चौबाटोमा अलपत्रीएको एउटा यात्री,
ईच्छा नै ईच्छा अनि सपना भित्र हराएको
कालो कुहिरोभित्र काग झैं रुमल्लिएको,
नदीमा बाढी आउँदा, धमिलिएको पानी भित्र
बिचलित त्यो माछा झै, हुरीको लहराभित्र
हराएको चरी झैं, म आफ्नै ईच्छाको चिहानमा
पुरिएको एउटा जिउँदो अवशान हुँ।
म आशा बाट टाढिएको र
प्रतिक्षाको घडी नभएको स्वास हुँ।

कबिता

पाइतलाको पिंडा....!

आफ्नै बिवषताले बलत्कृत पाइतला
बिरक्तिएर तुषारिएको गल्लीमा भौतारिन्छ।
यत्रतत्र छरपष्टिएका तुषारोले
पाइतलामा सहबास गर्छ।
लाग्छ झुरिएको काँचमाथी पाइतला छ।
अनियन्त्रीत दिशामा पाईला लर्बराउँदै,
बर्षौ पुरानो शालिकले झै गरेर,
नाङ्गै लुग लुग काम्दै उभिएर
हुरी रोक्ने प्रार्थना गरिरहन्छ,
हुरी रोक्ने प्रार्थना गरिरहन्छ।
उसको पीडा मात्र तुषारो हैन,
कैयौं अनगिन्ती काँढाहरु पनि,
बुट्ट्यानमा लुकेर उसैको प्रतिक्षामा,
आफ्ना तिखो तिखो शक्तिको प्रदर्शनीको
पर्खाईमा लुकेर बसेका छन।
बिचरा! पाइतला, जहाँ गएपनि,
उसैको मार, उसैले समेट्नु पर्ने।
उता हरिया लेउ देखी लिएर हरेकौ
नगन्य हरुसँग ठक्कर खानु पर्छ।
त्यो पाइतला झैं संघर्षरत मस्तिष्क किन छैनन?
मस्तिष्कमा किन,
पाइतलाको दर्दहरु भरिन्दैनन?
शायद मस्तिष्क स्वार्थि छ,
शायद भावना मस्तिष्कको
बसमा छ, त्यसैले ति
पाइतला सम्म आइपुग्न सक्दैनन।
बिचरा पाइतला, उसले धर्ती छाम्नुको
ब्यथा, धर्ती चुम्नुको ब्यथा
आफैमा समाहित गरेर आज
स्वतन्त्रको लागी सास फेर्न खोज्दैछ।
पाइतलाको मर्म कहिले मस्तिष्कले
बुझ्ने हो? कहिले भावनामा बग्ने हो?
तै पनि ऊ छुटकारा पाउन प्रार्थना गरिरहन्छ।

कबिता



ठट्टै

भेटिनु र छुट्टिनेहरु छुट्टिन्छन,
यहाँ मृत्युपछि अवशेष हड्डी र मासु जस्तै।
मानवको जिबन यहाँ धेरै सस्तो भयो,
बरु बजारको सब्जी हिरामोती जस्तै।
बाँचुञ्जेल मै खाउँ मै लाउँ दुनियाँ ओगट्छन,
मरेपछि एउटा कात्रो र सिक्का चट्टै।
मुर्खै मुर्खको जमातमा कहिले आउने समानता?
निम्छरो र निमुखाको जिबन पनि ठट्टै।

कबिता


मेरो आमाको रहर...!

पिठ्युँमा डोको अनि डोको भरि
धेरै गह्रौं भार बोकी लौरोको सहारा
लिएर उकालिन्दैछिन मेरी आमा।
बेंशीको खेत र झुप्रो घर उनको
जिबन भरिको गन्तब्य भएको छ।
हरेक बिहान उनलाई सताउन
घाम लुकामारी खेल्दै,
देउराली डाँडा देखी उदाउँछ।
सेतै हिमालसरि फुलेका केशराशी
कोर्न नपाएर नागबेली परिसकेको,
अनि समुन्द्री छालका तरंग झैं
चाउरिएको मेरी आमाको अनुहार,
मन भरि चोट भएपनि मेरो सामु
बसाईं छोडेको घरको झ्याल जस्तै
त्यो फुक्लेको दाँत अनि मेरो
प्रेरणाको लागी उनी हाँस्ने गर्छिन।
म उनको त्यो हाँसोमा दुख अनि सुख
दुवैको सुस्केरा महसुस गर्छु।
गाईभैंसी अनि भेडाबाख्रा मात्र
देखेकी मेरी आमा कहिलेकाहीं
अनुरोध र ईच्छा प्रकट गर्छिन,
छोरा! तिमी जाने शहर त
सुनैसुनको दरबारले बनेको हुन्छ रे,
त्यहाँ चरा भन्दा छिटो उड्ने,
अनि बाघ भालु भन्दा छिटो कुदनेमा
चढ्छन रे, म निभ्नु भन्दा पहिले
सक्छौ भने एकपल्ट देखाउ है,
म पनि बैकुण्ठ बास लिन्छु होला
त्यो सबै देखें भने।
मेरी आमा, उनको गन्तब्य गाउँबेंशीमा
पुरै जिबन अर्पण गरिसकेकी
तिमीलाई के थाहा? हामी बस्ने
झुपडी भन्दा शान्त, त्यो शहर छैन,
तरै पनि म मेरी आमाको रहर,
त्यो रमाईलो शहर घुमाउने छु।
खोक्रो आडम्बरमा उभिएका त्यो
स्वर्ण दरबारहरु देखाउने छु।
अनि तिमी के महसुस गर्छौ
मलाई भन्नेछौ आमा,
यो शहर त केवलनामको मात्र शहर रहेछ भनेर।
शायद तिमी उकाली ओराली गर्दा
भेटेका तिम्रा साथीसंगी सँग
साल अनि भोर्लाको पातमा
बिंडी बेरेर दुख अनि सुखको
बात मारे जस्तो देख्ने छैनौ शहरमा,
देउरालीको बरपिपलको शितल अनि
बिसाउने चौतारी भेट्ने छैनौ शहरमा।
केवल निस्तेज पिरो धुवाँमा रुमल्लिएको
अनि मान्छे हिंड्ने गोरेटोमा
आगो नै आगोको लप्काहरु
भेट्नेछौ, तरै पनि मेरी आमा
तिमीले चाहेको त्यो शहर हेर्नै पर्छ।
म त्यो तिम्रो ईच्छा र आकंक्षा
अबस्य पुरा गर्ने छु आमा,
पुरा गर्नेछु।

मुक्तकहरु



मलाई बिर्सी हाँसीदिनु सुहागरातको दियो जल्दा
अर्कैको शिंदुर पहिरिई बस्नु, मेरो लाश ढल्दा,
म त पर पर धेरै पर संसारबाटै पर हुन्छु,
तिमी बेहुली हुनु प्रीया, म आर्यघाटमा जल्दा।


धेरै पल्ट जिन्दगीमा धेरैले गर्ने ठुलो आश बने,
कतै कतै अबिछिन्न भएका बेसहाराको बास बने,
हाँसो खुशी लुटिएर, आस्थाको बलात्कार यहाँ हुँदा,
जिउँदै गाडिएको एउटा मुर्तिवत जिउँदोलाश बने।

हत्याराहरु खुशियालीमा खुन पिउँदैछन
निमुखा सोझा चोटैचोटको धुन सिउँदैछन
यहाँ मारिने त सबै निमुखा-सोझा मात्र,
होशियार! हत्याराहरु अझै जिउँदै छन।

अरुको गर्धन रेट्ने राम्रो रैछ तिम्रो बानी।
आफु पो मोटाउन थाल्यौ अरुको भाग तानी।
होस गर है सुदामा, अरुको भागमा र्‍याल काढ्छौ,
आफ्नो भाग छोडी, अरुको तान्दा पुग्लानी हानी।

दाउद र बिनलादेन नै तिमी आफुलाई मान्छौ क्यारे।
कहिंलेकाहीं त ओबामा र क्लिन्टन पनि धान्छौ क्यारे।
चौध अञ्चल, ७५ जिल्ला धावा बोल्ने जादु कहाँ छ तिम्रो?
प्वाँख काटेको परेवा हौ तिमी, साप निल्ने गरुड मान्छौ क्यारे।

अरुको खेदो खन्छौ, आफ्नो गल्ती देखेका छौ?
कुदृष्टीको चस्मा लाउँछौ, लेन्स कहिले फेरेका छौ?
जहाँ जहाँ तिमी जान्छौ, सबैको निद भाग्छ रे,
मान्छे बन्न तिम्रो घमण्ड कहिलेकाहीं सेरेका छौ?

कबिता


आउने छु फर्केर,,,,

कहाँ हुँदो रैछ दुखियाको सोंचे जस्तो जिबन,
ॠणपान गरी परदेशलागें भुलाउन यो मन,
कमाउन नसक्दा हरेक बोझले किचिन्छ झन,
घर सम्झ्यो प्रदेश हेर्‍यो जलिरहन्छ यो तन।
आउँछ होला याद मेरो एक्लै लेकबेंशी धाउँदा,
साथीभाई जोरीपारी मारुनी-झ्याउरे गित गाउँदा,
परदेश देखी कुम्लो बोकी छरछिमेकी घर आउँदा
मलाई सम्झी रुन्छौ होला सबैमा खुशीमा छाउँदा,
नरुनु प्यारी तिमी कहिल्यैपनि सम्झनामा चर्केर,
न मरी बाँचे कालै ले साँचे, आउनेछु फर्केर।
Next Page
Blog Widget by LinkWithin