कबिता


\\याद//

तिमी भन्छ्यौ म तिम्रो यादमा
कति पनि छटपटिन्न भनेर
तर मलाई थाहा छ या शुन्य रातलाई
अनि यो रेगिस्तानी छातीलाई
किनकी याद भनेको चौरस्ताको
भाषण होइन रहेछ।
याद कुनै मन्दिरको घण्टा भजन होईन रहेछ
या त कुनै कुरान या बाईबल
आपद्बिपदमा मात्र सम्झनाको पात्र बन्ने
याद त आईरहन्छ बिना उद्देश्य
बिना रुकावट
बिना बोलावट
बिना प्रयोजन
बिना आमन्त्रण
सप्तकोशी बनेर
आकाश भन्दा अग्लो नयनका
छाँगाबाट खसिरहन्छन
त्यहिं बिरानीमा, त्यहिं शिरानीमा
त्यहिं छातीमा, त्यहिं धर्तीमा
जहिं-तहिं साक्षत्कार भएर
हृदयलाई सुकाउँदै
कलेजोलाई कम्पन गर्दै
फरक यति हो यादहरु आउँछन मस्तिष्कमा
ठोकिन्छन हृदयमा
अनि आवाज बिहिन भएर
सताईरहन्छन बालकले आमालाई झैं
सताईरहन्छन पवनले फूललाई झैं
सताईरहन्छन पिंडाले घाउलाई झैं
अनि बादलले सुर्यलाई झैं।

म यति धेरै याद सजाएर
यादै यादको महलभित्र
महलपति भएको छु प्रीये !
तिमी मलाई तिम्रो याद बिहिन
कंगाल कहिल्यै नसम्झनु।
फरक यति हो
तिमी मेरो यादको महलमा बिराजमान छ्यौ
तर तिम्रो अलिशान तिमी स्वयम देख्दिनौ।
तिमी हिंडीरहिछौ मेरो हृदयको चौकोसभरि
यो पनि तिमी स्वयम देख्दिनौ,
बिडम्वना!
मैले नटिपेको त्यो तारा तिमी माथि छ
मैले नचढेको जून, तिमी माथी छ
केवल म तिम्रो लागी जून रुपी फूल टिप्न सकें
केवल, तिम्रो निम्ती तारा रुपी रहर टिप्न भागें
आज खण्डित भएर तिम्रै यादमा जिउँदा
नफ्याँक्नु म तिर, नकुल्चनु मेरो हस्तलिपीहरु
किनकी त्यहाँ पनि मेरै यादहरु
समेटिएका छन, सत्य यत्ति हो
जो बोल्न सक्दैनन
हात फैलाएर तिमीसँग धुजा हुनकोलागी
बिन्ती भाउ गर्न सक्दैनन।
हो, बिन्ती भाउ गर्न सक्दैनन।।

2 comments:

Blog Widget by LinkWithin