कबिता

आकाश तिमी नरोईदेऊ!

आकाश तिमी टाढा भएर के भो?
धर्तीमाताको लागी तिमी त छौ नजिक,
धर्तीमाताको हरेक क्षणलाई माया गर्छौ,
चाहे सुख्खा होस या जुनै अवस्था,
केवल तिमीले त हेरिदिन्छौ उसका
चाहनाहरु, पुछिदिन्छौ उसका आँशुहरु।
तिम्रो माया यहाँ अपरम्पार छ।
धर्तीमाता प्यासले छटपटिंदा
प्यास मेटाईदिन बर्षा बनी बर्सिदिन्छौ,
धर्तीमाता सुर्यको ताप खप्न नसके
प्रचण्ड सुर्यको तापलाई पनि
बादल पठाई छेकीदिन्छौ।
तिमीले रक्षा गरेको यो धर्तीमाता
आज कम्पित भईरहेकी छिन।
हरेक घडी धुवाँ, आगो, बारुदको
छिया-छिया परिरहेकीछिन।
अहिले तिमी पनि सोचीरहेका हौला,
के आफ्ना सन्तानहरुले आफ्नी
आमालाई यसरिनै गर्नु पर्ने भनेर,
लाग्छ होला जताततै
चट्ट्याङ खसाली सबै सखाप पार्न,
तर आकाश तिमी त्यो गर्न सक्दैनौ,
तिमीमा शक्ती छ,
तिम्रा बसमा छन अदम्य शक्तीहरु
तर तिमी चुपचाप सहन बाध्य छौ,
किनकी धर्तीमातालाई तिमी धेरै माया गर्छौ।
धर्तीमाता बाट सृजित सम्पुर्ण
प्राणी, जिबित वा निर्जीब सबैलाई
तिमी धेरै माया गर्छौ।
आज तिमी अबोध भएर
मौन रही केवल आँशु खसाली रहेछौ।
आकाश तिमी कहिल्यै निराशित नहुनु,
तिमी भन्दा फराकिलो को हुन सक्छ र?
तिम्रो जस्तो फराकिलो मन कस्को हुन सक्छ?
तिमी नरोऊ कहिल्यै,
तिम्रो आँशुले धर्तीमाता डुब्नेछिन
तिम्रा आँशुले धर्तीमाताका सन्तानहरु
बर्बाद हुनेछन।
तिमी मेरी धर्तीमाताको मुख हेरेर
नरोई देऊ,
तिम्रो रुवाइले धर्तीमाता
तिमी बाट सृजित समुन्द्रको
छातीभित्र हराउने छिन।
त्यसैले तिमीलाई बिन्ती गर्छु,
मेरी धर्तीमाताको लागी
आकाश तिमी नरोईदेऊ।

1 comment:

दूर्जेय चेतना said...

साह्रै सुन्दर लेख्नु भएछ। मन नै बटारिएर आयो। आकाश रुदाको क्षण र धर्ती भासिदाको क्षण कहालि लाग्दो नै हुन्छ। अझ सटिक कबिताहरु पठ्न पाईयोस है।

Blog Widget by LinkWithin