कविता

तिहार तिमी.......!

तिहार तिमी नरोइदेऊ मेरो दिदी र बहिनीको,
त्यो कोमल नयनको नुनिलो आँशु बनेर ।
परिस्थितीको बोझहरु सजिलै उठाउन नसक्दा,
आज टाढिएको छु म, एउटा परदेशी बनेर।

मलाई पनि कहाँ छ र मन, टाढा भै बस्ने,
मेरो झुपडीमा बर्षदिनमा तिमी आउँदा।
मेरो चेलीहरुले रोपेको मखमली र सयपत्रीको
लाली बनी थुँगा-थुँगामा तिमी मुस्कुराउँदा।

मेरो अनुपस्थितिमा पनि तिमी हाँसी दिनु है,
मेरो दिदी र बहिनीको मिठो हाँसो बनेर ।
उनीहरुको ह्रिदयमा त्यो उमङ्ग जगाउनु तिमी,
अनि भनिदिनु माईती बाँचेको नै छ, हाँसेर।

तिहार तिमी त बुझ्छौ मेरो ह्रिदयको गहिराई
तिमीले त देखेको छौ मलाई यहाँ नयन खोलेर।
भनिदिनु मेरो दिदी-बहिनीलाई आउने साल आउँछ रे
सबैको निम्ती अमुल्य उपहार लिएर, उपहार लिएर।

2 comments:

Pratima chamling said...

hello bj g tapailai dashai ko shubhakamana hai ra thank you tapaiko mitho kaitaako lagi.

Asha said...

मार्मिक कविता बि.जे जी.. नजिकै आउँदै गरेको दीपावलीको धेरै धेरै शुभकामना...

Blog Widget by LinkWithin