कथा कुथुङ्ग्री...!

बिहान हुनको लागि भालेहरु डाक छाड्दैछन। पहिलो डाकमा ब्युँझिन्छिन रमा। बिहान उठ्ने बित्तिकै उन्को दैनिकी शुरु हुन्थ्यो। पानी भर्न नजिक धारा नभएको ले पन्ध्र मिनेट जती टाढा लाग्ने खहरेको कुवाबाट पनि ल्याउनु पर्छ। रमा अँध्याँरोमै शिरानमुनी बाट टर्च लाईट निकाल्ने कोशीस् गर्छिन। आफ्नो श्रीमान ब्युँझेला भनेर डराई डराई किनकी श्रीमान ब्युँझियो भने बिहानको निद्रा खराब गरेकोमा गाली मात्र हैन एक किलो जतिको मुक्कैपो खाईने हो कि। स्वास रोकेर टर्च निकालेर सासु, ससुरा, नन्द देवरको स्कुले कपडा अनि आफ्नो श्रीमानको सम्पूर्ण कपडा बोकी त्यस माथि बराजुको पालादेखिको पित्तले गाग्रो बोकेर कुवातिर लाग्छिन। अध्याँरो चकमन्न उनि एक्लै अनि एकोहोरो किराहरुको किर्-किर आवज अनि कहीं कहीं लाटोकोसेरोको आवाज, मनमा जतिनै डर र भय भएपनि पाइतलाले कुल्चेर बुहारी हुनुको नाताले बाटो लाग्छिन। अरुले पालो उछिन्लाकी भनेर उनि हतार हतार आंध्यारोमा हस्याङ र फस्याङ हुँदै मधुरो टर्च लाईटको सहारले दौडिरहेकी हुन्छिन उन्को अगाडीबाट स्याँ गरेर एउटा सापले बाटो काट्दा उन्को हंसले ठाउनै छोडछ। फेरी सम्हालिदै बाटो लाग्छिन।

मंसीर पुष को जाडो थुर - थुर काम्दै आफुनै छेकिने कपडाको रास धोइ रहेकिछिन रमा । न उनमा केही रिस छ, न उनमा डाह न उनमा केही इर्ष्या न कुनै सँग प्रतिसोधको भावनानै, खाली छ त उनमा एउटा चिन्ता कसरी मेरो परिवारलाई खुशी पार्ने त्यो सोंचीरहन्छिन। धुँदा धुँदा कपडाको डंगुरसंगै साबुन पनि सकिन्छ। उनलाइ डरले घेर्छ किनकी उनको सासुको कपडा सकिएको हुन्न तैपनि बल्ल तल्ल सकेर सबै कपडाको त्यो भिजेको पोको अनि घर तर्फ उकालो लाग्छिन।

मिर्मिरे उज्यालो भैरहेको हुन्छ, रमा पानीको भारी र त्यो काँचो कपडा सँग झण्डै सत्तरी किलो को भार सहित बल्ल तल्ल आइपुग्छिन। सबै उठेका हुँदैनन ओछ्यानमै हुन्छन । हत्तपत्त पानीको गाग्रो र कपडाको पोको उतारेर कपडाहरु सुकाइसके पछि गाई भैंसीलाई घाँस् पानी गर्छिन। सबै बहिरको धन्दा सके पछि उनि भान्साघरभित्र छिर्छिन। सबैलाई नास्ता चियाको ब्यबस्था गरे पछि सबैलाई दिन्छिन यती धेरै काम गरिसक्दा पनि कहिले सासुको मुख उज्यालो देख्दिनन। जतीनै राम्रो काम गरेपनि एउटा सानो कुरामै आफ्नो बराजु देखि लिएर सम्पूर्ण परिवार अनि निर्दोश उन्को माईतिहरु सम्मलाई मुखमा जे पायो त्यही भन्थिन। आफुलाई त भयो आफ्नो निर्दोश माइतिहरुलाई अनेक थरिको गाली अनि आमा बुवालाई हरेक थरिको लान्छना लगाको सुन्दा त कहिले काहीं केही भन्न उनलाई पनि नलागेको तकहाँ हो र? र नै पनि उनि मौन रही रहिन ति सबै दर्दहरु छातीमा चर्किएर दुखे पनि आँशुले धुने गर्थिन। उनका सबै पिडाहरु पोख्ने केवल त्यो आँखा थियो, लोग्ने थियो त केवल अबुझ्, जहिले पनि आमाको कुरा सुनेर रमालाई पिर र दुखा बाहेक अरु के दिएको थिएन। यो सबै रमा आफ्नो पुर्पुरो लाई दोष दिदैं आँशु पिउदै सहिरहन्थिन ।

यसै गरी रमाका दिनचर्या हरु बित्दैं जाने क्रममा एकदिन उनलाई थाहा भयोकी उनि आमा बन्नेवाला थिइन । हृदय भरि खुशी बोकी यो खुशी आफ्नो श्रीमानलाई सुनाउछिन । यो कुरा सासु ससुरालाई पनि थाहा हुन्छ । ससुरालाई खुशी लाग्छ बुढेसकालमा नातीको व नातिनी हेर्न पाइने भयो भनेर। सासु चाँही त्यही एउटा अड्को नथापी बोल्नै हुन्न, सांच्चै हो कि काम गर्नु पर्छ भनेर नाटक गरेकी कुन्नी, ससुराले हपार्छ बुढीलाई हैन हो तलाई के भाको हँ जहिले पनि यही बिचरीलाई नराम्रो भन्छस । तेरो मुखमा कहिले काही त राम्रो बचन राख। यो सबै संबादले रमाको मनै कटक्क खायो । हुनपनि कति सहनु सहनुको त सिमानै हुन्छ र पनि रमाले कहिले पनि आफ्नो मुख फोरिनन सासु,ससुरा अनि श्रीमनको बारेमा यसरीनै समय अगाडी बढीरहेको हुन्छ । रमाको गर्भवती पनि ६ महिनामा प्रबेस गरेको हुन्छ । काम धन्दाले कहिले गर्भवती भनेन। रमाको साथी शीलाको पनि गर्भवती भएको महिना मात्र बितेको छ र पनि उनको हेरचाहमा सम्पूर्ण परिवारनै लागि परेको छ। तर रमाको लागि कसैको मन पग्लिएन एउटा छोरी मान्छे भएर छोरी मान्छेको पिंडा बुज्न कहिले सकिनन आमा रुपी सासुले ।

रमाले भारि पेट बोकेर घाँस् दाउरा पानी पधेरो नगरेसम्म हुन्नथ्यो । न खानाको टुंगो न आरमको ब्यबस्था । एकदिन उनले आफ्नी सासुको सारी धारामा धोइ ओरि राखेको ठाउँमा नै बिर्सेछिन । कसैले टिपेर ल्याई उनको सासुको हातमा दिएको हुनाले सासु रिसले चुर चुर भएर भन्न लागिन रमालाई तँलाई अब मेरो समानहरु फेंक्न थालिस हैन शायद सोंच्दो होस मरिजाओस भनेर तर याद राख फेरी फेरी यस्तो गरिस भने तँलाई म के गर्छु। रमा मौन छिन, उनलाई थाहानै भएन उनले बिर्सेछिन। त्यो निर्दयी राक्षस्नी जस्तो सासुलाई के थाहा छोरी मान्छे गर्भवती हुंदा सम्पूर्ण संस्मरन शक्तिले काम गर्दैन भनेर। रमाले चुप चाप सहिरहिन सम्पूर्ण झिररुपी बचन बाणहरु। शायद आँशु नहुदो हो त कसरी रमा त्यो पिंडा सहेर बाँच्थिनहोला। यदि आँशुको रंग हुँदो हो त रमाले रुएका सम्पूर्ण आँशुहरुले उन्ले हिंडेका गोरेटाहरु रंगिन हुन्थेहोला ।उनको दर्दमय संसार ढाक्थ्यो होला, सबै पोतिन्थे होला। यदि पिंडाको जातहुने भएको भए रमाले पाएको आत्मिक पिँडाले उनले जिउने गरेको धर्ती ओगट्थ्यो होला।

यसरी नै कारुणिक जीवन बिताइ रहिन रमाले। उनको श्रीमान केवल नाम मात्रको श्रीमान सबै आमाको हुंदो नहुंदो कुरा सुनेर निर्दोश पत्नी लाई नै उस्तो सम्झिन्थ्यो। न्याय र अन्याय छुट्ट्याउने त परै जाओस आफ्नै श्रीमती प्रती उल्टै खानिन्थ्यो। हामीले हाम्रो आमाबुवाको जहिले पनि मान मर्यादालाई शिरोपर गर्नु पर्छ, तर बुर्जुक छोरा भएर हैन असल छोरा भएर । रमाको श्रीमानले आमाको कुरालाई एकपल्ट नियाल्नु पर्ने हो त्यो कहिले गरेन, फलत्; रमाको महिना पुग्यो अनि उनलाई प्रसुती बिमारले च्याप्यो । उनलाइ महिला सम्बन्धी डक्टर नभएर गाउँभरिका जँड्यहा सुडेनी लगाइयो। जहाँ गाइ भैंसीको लागि गर्ने हरुले मान्छेको के गर्छन्, न तालिमनै छ न त केही शिक्षा प्रसुती सम्बन्धी, यसरी पशु सरी उनको सहयोग गर्न थाले ति गाउँका भलाद्मी सुडेनी हरुले,फलत्; ९ घण्टा सम्म रमाले आफ्नो बच्चाको जन्मा दिन सकिनन। त्यस्पछि सुडेनिहरु निराश भै हस्पिटलको कुरा गर्छन। यसरी हस्पिटलको तयारी हुंदा हुंदै रमाले यो पापी संसारलाई त्याग्छिन। उनले शायद उन्कै सासु जस्तो परालको थुप्रोमै पनि सन्तान जन्माउन सक्थिन यदि उन्कोलागि पनि उन्कै सासु जस्तो बिभिन्न पौषटिक खाना र उनको राम्रो हेरबिचार भएको भए। तर त्यो हकिकतमा कहिले भएन।

उनको लाशलाई दाहसंस्कार गरिन्छ। अझै पनि रमाकी सासु रमालाई गाली गलौज गर्दै थुकी रहन्छे। बाचुन्जेल बुहारीको खुन पिइ मरिसके पछि पनि धरै छैन बिचरा रमा, रमा कि सासुलाइ केही बिमार परेपनि रमालाई नै दोष दिन्छे, उता खाना टन्न खाएर पेट दुख्यो भने पनि त्यही रमाले, उता ठण्डी लागेर टाउको दुखेपनि त्यही रमा, कुगतमा परेको ले घरै खान्छ भन्दै बिभिन्न धामि बैदाङ र बिजुवा लगाएर टन्न भाले, खसी सम्पूर्ण बस्तु ख्वाएर आफ्नो मनलाई शान्त गर्छिन। अनि जहिले तहिले सरापी रहन्छिन। बिचरा उनको नाममा उनको आत्माले शान्ति पाओस् भनेर दियो बाल्न त परै जाओस गाली र गलौजले उनको त्यो नाम रंगाउँछिन।

रमाले जस्तै उनको परिवारले पनि बुझी दिएको भए त्यो घर कति रमाइलो स्वर्ग भन्दा पनि रमाईलो हुन्थ्यो होला तर आज त्यो घर नर्क भन्दा कम छैन । रमाले झैं उनको परिवारमा बुझी दिएको भए एउटी बुहारीको जिन्दगी पनि मासु छाला र हाडले बनेको हुन्छ, मेसिन हैन र उनको पनि हाम्रो झैं दुख्ने मुटु हुन्छ सोचेको भए आज पक्कै पनि कस्तो रमाइलो परिवार हुन्थ्यो र सदा सदा परिवारको लागि मरिमेट्ने रमाले यो दुनियाँ छोड्नु पर्दैनथ्यो ।
लेखक -बि जे बान्तवा राई

No comments:

Blog Widget by LinkWithin