गीत

घरबसि दङ्ग्याउँछौ सकेसम्म भन्न भ्याउँछौ
परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ

ठोक्किरहन्छ दु:ख-पिंडामा बिसाउनी ठाउँ हुन्न
यि सब छोडी तरिजाउँ भने तर्ने कोई नाउ हुन्न
भन न हौ घरबेशी, बुझि-बुझि कति सताउँछौ?
परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ

वरपर शत्रु मिली तिम्रो, कान भर्दै होलान कति
तिम्रोमेरो सम्बन्धमा निलकाँढा छर्दै होलान कति
शत्रुलाई नबुझेर आफैलाई भन कति तताउँछौ?
परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ

Bj "Bidrohee"
गीत सप्रेषित मिती २६ मार्च २०१४-ईजरेल

साब्लाबुङ भित्र दाजु राजकुमारको सम्झना!

सिमाना पारी दाजु र सिमाना पारीनै म। दुवै ध्रुब बिपरित छन र पनि सम्झना स्वरुप पाएको साब्लाबुङ साहित्यिक पत्रीका बर्ष ३ र पुर्णाङ्क ५ आज धेरै महिना भैसक्यो। दुईशब्द मानवियता प्रकट गर्न सकिनरहदा अलि लज्जित भने छु। दाजुले पुस्तकभित स्पष्टसँग बिजे भाई दाजुको सप्रेम सम्झना भनेर लेख्नुभएको छ। यो शब्दलाई पनि मैले अपनत्व दिन नसकेकोमा आफैलाई बोर लागिरहेको समय पर्खिरहेको थिएँ। आज अचानक यो साहित्यिक पल्टाउँदै जाँदा धेरै खुशी लाग्यो। यो साहित्यिक पत्रीकाहरुको माझ साब्लाबुङ पत्रीकाको मुख्य उद्देश्य र राज कुमार दाजु प्रति धेरै कृतज्ञ रहें। किनकी यो पत्रीकाको उद्देश्यले मलाई धेरै फरक अनुभुती गरायो। जुन अनुभुती हुन देश बिदेशमा रहेका नेपाली साहित्यकारहरुको जमघट जो आजसम्म कमै पत्रीका मा पाईन्छ। नेपाल, हङकङ, बेलायत, भारतका बिभिन्न राज्यहरुबाट नेपाली साहित्यकारको हस्ताक्षर, अमेरिका, युरोपका बिभिन्न देशमा अडिनुभएका नेपाली सहित्यिक हस्ताक्षर, भन्नै पर्दा ग्लोब भरि रहनु भएका नेपाली साहित्यकारहरुको जमघट यो पत्रीका मार्फत मलाई अति नै अबिष्मरणिय लाग्यो।

डा कुमार प्रसाद कोईराला ज्यूको डा गोबिन्दराज भट्टराई ज्यूको बारेमा  कोर्नुभएको आलेख, डी बी पालुङवा जीको कबिता भित्रकी अप्सरा, दाजु गुरुङको गीतमा उहाँको अप्सराको उपास्थिती, सञ्जु बजगाईको आधुनिक एबं परम्पराको मझधारमा अड्किएको मन, अमर नेम्बाङ जीको अमेरिकामा नेपाली डायस्पोरा कबिता: एक बिहङ्गम दृष्टि समिक्षा, देहरादून बाट कबि भुपेन्द्र अधिकारी ज्यूको कबिता भित्रको "तिम्रा हिंजोहरुको बर्तमान", शर्मिला खड्का दाहाल दि ज्यूको कार्निभलको त्यो मेला नियात्रा, मिजास तेम्बे जीले जर्मनीबाट कबिता मार्फत नै भन्नु भएको छ " म धेरै कुरा बुझ्दिन"। मीरा थापाले ईजरायल बाट गजलका माध्यमबाट पोख्नु भएको मधुर मायुषी, कृष्ण प्रकाश श्रेष्ठ ज्यूको रुसको नेपाली साहित्यिक गतिबिधि, मनु लोहोरुङ यावाले न्युयोर्कबाट कबिताको सागरमा बगाएको एक कल्ली गुलाफ, लन्डन बाट जया राईले लघुकथात्मक "प्रश्न",देश सुब्बाको भयबाद भयरोग दर्शन, शिब गौतमजीले अमेरिकाबाट जोडेको कबिता मार्फत नयाँ पुराना बाटाहरु, बिक्रमबीर थापा ज्यूको बार पत्थर सिलोङ भारतबाट संस्मरण कथा नेपाली मोनालिसा, कृष्ण प्रसाईंजीको नियात्रा "पारखी पहाडहरुसँग"। जगत नबोदितजीको बेलायतबाट कथा "सरी सरुमा"। कबि मनोज बोगटीको "देश","खडेरीको ब्यक्तित्व" र "हलगोरू"  कबिताहरु, कथाकार कृष्णपक्ष थापा ज्यूको यथार्थतालाई उभाउने कथा सूनको बाला लाउने धोको, रेगिस्तानी कबि तिर्थ संगम राईका कबिता "साकेलाको दर्पणभित्र अब्यक्त प्रेम कथाहरु" रुसी कबि ईगोर एलिएसेएभले नेपालको भ्रमण गरि नेपालकै मानचित्रलाई लक्षित गरेर लेखिएको कबिता "स्वर्गद्वारीको पुल" अनुवाद कृष्णप्रकाश श्रेष्ठ जीको। कथाकार दीपा एवाई राईको कथा हङकङबाट "ताजकुचीनको पर्दा"। कबि कीर्तिमणि खतिवडाजीको मणिपुर आसामबाट कबिता "तिमीलाई के थाहा"। कबि दीप्स् शाहजीको लेख "ईजरायली भुमिमा मौलाउँदो नेपाली सहित्य", कथाकार टोप बहादूर राईजीले हङकङबाट लेख्नुभएको संस्मरण कथा " मैले हारेको युद्द"। कबि कुशल कुमार निराउलाको कबिता नारी महिमा। निबन्धकार दीपक भेटवालको नियात्रा "सिउल टावरको टुप्पोमा"।कबि मिलन खतिवडाले रुसबाट लेखेको बैशालु र नसालु गजल। लेखिका भारती गौतमले बोस्टन अमेरिकाबाट लेख्नुभएको लेख "महिला दिवस सहि परिपेक्ष्यमा"।

कबि आशिष साम्पाङजीले हङकङबाट लेख्नुभएको कबिता "ईलेक्ट्रोनिक आन्दोलन" कथाकार हरिहर खनाल ज्यूले काठमाडौबाट लेख्नुभएको चिन्तन र चेतनात्मक कथा सुनौलो सपना र अध्याँरो गल्ली। गीत तथा गजलकार बैनी पबित्रा राईले बहराईनबाट लेखेको 'परी ज्युउँदै मरी" शिर्षकको मार्मिक गजल। लेखक भवानी अधिकारी ज्यूको ईम्फाल मणिपुरबाट लेख्नुभएको लेख "मणिपुरमा हामीहरु"। अनुसन्धनात्मक लेखक देवराज राई जीको ऐतिहाँसिक लेख "बिस्वभर छरिएका गोर्खाली समाधीहरु"। मिजौरामका कबि तथा लेखक सुश्री लक्ष्मी [मिनु]जीको लेख "मिजौरामका गोर्खाली र हाम्रो पारम्परिक धर्म संस्कृति"। मस्कोका कबि भलादिमिर सिल्किनको कबिता जो रुसका लागी नेपाली राजदूत महामहिम सुर्यकिरण गुरुङप्रति लेखिएको छन्दोबद्द कबिता "नेपाली राजदूतावासमा"। लेखक खिलानाथ शर्मा अधिकारी जीको लेख जगुन तिनसुकिया आसामबाट 'आसामका केही साहित्य र संगठनका कुराहरु'। कबि मनोहर घर्तिमगरजीले रसियाबाट पठाउनुभएको कबिता 'मेरो छोराको जन्म'

बहुप्रतिभाशाली साहित्यकार र अमुर्तबोधी दर्शनका पथप्रदर्शक खगेन्द्र पन्धाक लिम्बु ज्यूले बैंकक थाईलैंण्डबाट पठाउनुभएको चोटिलो कबिता "आफ्नै हुलिया"। लेखक सुरेन्द्र लिम्बु परदेशीको लेख 'डायस्पोरा र नेपाली साहित्य' बिचार मञ्चन। कबि पि एम पर्देशीजीको कबिता 'टाँकी म मात्र के गरौं तर तिमी त्यस्तै थियौ'। गजलकार  किरन मेन्याङ्बोको मृदु गजल। डा प्रभा कैनीको नियात्रा 'सेरेना भिलेजको हासिला शरणार्थी'। लेखक सन्ध्या रेग्मी जीको देशी चिन्तन लेख 'परदेश,स्वदेश र सिर्जना स्रोत [प्रबासी नेपालीको देशप्रेम] बाट। कबि नरेश सुनुवार जी हङकङबाट जुर्मुराएर 'जल्लादहरुको बिरुद्द'कबिता लेख्नु हुन्छ। कबि प्रगती राई  दक्षिण कोरियाबाट कबिता मार्फत 'हरियो कोरियाको गीत' लेख्नुभएको छ। डा लक्ष्मण प्रसाद गौतम ज्यू काठमाडौबाट 'त्रीभुवन बिस्वबिधालयको नेपाली पाठ्यक्रममा डायस्पोरिक साहित्य; एक सङ्क्षेपण' लेख्नुभएको छ। कबि बिजी श्रेष्ठ जीले लिस्बोन पोर्चुगलबाट आफ्नो कबितामा ' भो म कबिता लेख्दिन' भनेर कबिता लेखि पठाउनुभएको छ। कबि प्रबल प्रधान जीले पनि युक्रेनबाट नैतिकता शिर्षकमा आफ्नो दह्रो काब्यिक पेशकस छ। कबि सानु घिमिरे जीले पनि अष्ट्रेलियाबाट आफ्नो कबिता मार्फत 'जिन्दगीको सहयात्रा' गर्नुभएको छ। कथाकार सुनिल संगम लिस्बोन पोर्चुगल मार्फत मारिलोलाई आफ्ना कथा मार्फत 'मैले मारिलोलाई हुन्छ भन्न पाईना' भन्ने गुनासो पोख्नुहुन्छ। कबि तिलक केसी रसियाबाट कबिता मार्फत खरो भएर कबिता लेख्नुहुन्छ ' रगत फेर्दै फेर्दिन' लेखक शुभ मुकारुङ आफ्नो लेख मार्फत किराँत राईहरुको मृत्युपछि चौतारो लाईदिने साँस्कृती रहेको आफ्नो लेख 'किराँत राई जातिको चौतारा संस्कृति' मार्फत प्रष्ट पार्नुहुन्छ। डा ज्ञानु पाण्डे आफ्नो लेख मार्फत 'डायस्पोराको सैदान्तिक आधार तथा नेपाली वाङ्मयबृत्तमा यसको चर्चा लेख्नुहुन्छ र यो साब्लाबुङको अन्तिम च्याप्टर कथाकार जयराज भटराईको कथा चोर गोजी मार्फत सकिन्छ। यसभित्र जतिपनि कबिता, कथा, गजल, नियात्रा र लेखहरु छन बिस्वभरका नेपाली डायस्पोरा र नन डायस्पोराको उपास्थिती गराएको छ यो पत्रीकाले। सबैलाई उत्तिकै अवसर दिएर प्रकाशमा ल्याउनुहुने साब्लाबुङ युनिट हङकङ र प्रकाशक एबं सम्पादक राज कुमार राई दाजु प्रति हार्दिक हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। साब्लाबुङको पथ अनन्त रहोस। यहिं शुभकामना राजकुमार दाजु र साब्लाबुङ परिवारलाई।




गजल


बिन्दास् गजल

ए! फूलहरु हो, मलाई रुवाएर गयौ
हाँसो फुल्ने आँखामा आँशु चुवाएर गयौ

मनभरि हजार सपना बोकेर नै हिंडेथे
आज अनयास सबै सप्ना तुहाएर गयौ

बिन्दास् हिंड्थें, गाउँमा रम्थे आँटोढिंडो खान्थे
राम्रो लाउने-खाने आशामा डुबाएर गयौ

मेरो पहिचानमा तिमेरकै आँखा लागेछ
बिदेशी पहिरनले मलाई कुहाएर गयौ

ए! फूलहरु हो, मलाई रुवाएर गयौ
हाँसो फुल्ने आँखामा आँशु चुवाएर गयौ ||

गजल



डाँडापारी घाम डुब्यो, मन पुग्यो मझेरीमा
भेटिनु त छँदै छहै, भेटौ कान्छी सल्लेरीमा

ऐसा गर्छु तैसा गर्छु लानुनै पो के नै छर?
चिन्ताभित्र डुबीरहे  मन सुक्छ खडेरीमा

हुन्छ रात, रुन्छ जून साथमा ति'मी नहुँदा,
नयन यि तिमी खोज्दै थाक्छन है अँधेरीमा

तिमी अन्धी म नि अन्धा उस्तै उस्तै हुँदा कान्छी
समाजले लुछिरयो हाम्रो प्रेम सँधेरीमा

बिद्रोहीको मन-यान'मा पखेटा पलाको छ
उडौ अब सगरमा, छोड  रुँग्न पधेरीमा ।


कबिता


\\याद//

तिमी भन्छ्यौ म तिम्रो यादमा
कति पनि छटपटिन्न भनेर
तर मलाई थाहा छ या शुन्य रातलाई
अनि यो रेगिस्तानी छातीलाई
किनकी याद भनेको चौरस्ताको
भाषण होइन रहेछ।
याद कुनै मन्दिरको घण्टा भजन होईन रहेछ
या त कुनै कुरान या बाईबल
आपद्बिपदमा मात्र सम्झनाको पात्र बन्ने
याद त आईरहन्छ बिना उद्देश्य
बिना रुकावट
बिना बोलावट
बिना प्रयोजन
बिना आमन्त्रण
सप्तकोशी बनेर
आकाश भन्दा अग्लो नयनका
छाँगाबाट खसिरहन्छन
त्यहिं बिरानीमा, त्यहिं शिरानीमा
त्यहिं छातीमा, त्यहिं धर्तीमा
जहिं-तहिं साक्षत्कार भएर
हृदयलाई सुकाउँदै
कलेजोलाई कम्पन गर्दै
फरक यति हो यादहरु आउँछन मस्तिष्कमा
ठोकिन्छन हृदयमा
अनि आवाज बिहिन भएर
सताईरहन्छन बालकले आमालाई झैं
सताईरहन्छन पवनले फूललाई झैं
सताईरहन्छन पिंडाले घाउलाई झैं
अनि बादलले सुर्यलाई झैं।

म यति धेरै याद सजाएर
यादै यादको महलभित्र
महलपति भएको छु प्रीये !
तिमी मलाई तिम्रो याद बिहिन
कंगाल कहिल्यै नसम्झनु।
फरक यति हो
तिमी मेरो यादको महलमा बिराजमान छ्यौ
तर तिम्रो अलिशान तिमी स्वयम देख्दिनौ।
तिमी हिंडीरहिछौ मेरो हृदयको चौकोसभरि
यो पनि तिमी स्वयम देख्दिनौ,
बिडम्वना!
मैले नटिपेको त्यो तारा तिमी माथि छ
मैले नचढेको जून, तिमी माथी छ
केवल म तिम्रो लागी जून रुपी फूल टिप्न सकें
केवल, तिम्रो निम्ती तारा रुपी रहर टिप्न भागें
आज खण्डित भएर तिम्रै यादमा जिउँदा
नफ्याँक्नु म तिर, नकुल्चनु मेरो हस्तलिपीहरु
किनकी त्यहाँ पनि मेरै यादहरु
समेटिएका छन, सत्य यत्ति हो
जो बोल्न सक्दैनन
हात फैलाएर तिमीसँग धुजा हुनकोलागी
बिन्ती भाउ गर्न सक्दैनन।
हो, बिन्ती भाउ गर्न सक्दैनन।।

कबिता


\\आदिशक्ती//
घरकै बलेसी देखी ह्याथ्रुङको झर्नासम्म
लेकबेंसीको पर्मदेखी आफ्नै हारेको कर्मसम्म
भाग्य खोटो, बिधिको बिधान भन्दै
साँझ सँग लुकामारी गरी बिहान आउने पल गन्दै
यहाँ मोनालिसाहरु लियोनार्दोको
पर्खाईमा छन ।


कागजमा कोरिने हक र अधिकारभित्र
रिति र धर्मको दह्रो गातो लाएर
ईतिहाँस देखी ईतिहाँसनै बनिरहन्छ,
त्रेत्रायुगकी सितादेखी
कलियुगकी पासाङ ल्हामुसम्म
हिटलको बध देखी माओको सिद्वान्तसम्म
एक रथको दुई पाङ्ग्रा देखी दुई लाश एक चिहानसम्म  
आमाहरु यहाँ नर्कलाई स्वर्ग बनाउदै रहन्छन
दिदीहरु केवल अझै घाँसकै भारीमा बाँधिएका छन
बैनीहरु जुठाभाँडा र पानीपँधेरोमा मिसिएका छन  

युग सिद्दान्तको फोटोकपि बेचेर
अशिक्षितलाई कालो चस्मा लगाईदिएर
बलीको प्राणी बनाएर छोड्छ ।


म पनि
त्यहिं देशको एउटा जनावर,
आमालाई डेढमनको जाँतो पिसाएर
देशको बिकाशको भाषण छाँट्ने
नेताको पुच्छर।
दिदीको सपना महँगा नाईक र एडिडाज सँग साटेर
बहिनीको आशा झुठो त्यान्द्रोमा बाँधेर
महलको सपना देख्ने
कलियुगको धुन्धुकारी |

आमा,दिदी,बहिनीहरुको सम्मानलाई
अपमानको घट्टामा पिस्दै  भाषणमा नाचीरन्छ न्याय ।

बोक्सीको तक्मा भिराएर बदनामी पुरष्कार दिएर बलवान भएर हाँसिरन्छ युग। 
न्यायको तराजुहरू जैले पनि आफ्नो भार कम गरी
भार पुरै बोकी निख्रिएको भुस सरी
पीइरहन्छिन मेरी आमाले,
बोकीरहन्छिन मेरी दिदीले,
सहिरहन्छिन मेरी बैनीले,

अभावका भारहरु,
अशिक्षाका पोकापन्तुराहरु,
मेलापात, खेताला र गोठालाहरू


त्यसैले अब
मेरी आमा, दिदीबैनीहरुलाई
जाँतो घुमाउन हैन
क्षेप्यास्त्र उडाउन सिकाउनु छ।
डोको बोकाउनु हैन,
एटमको रिमोट चलाउनु सिकाउनु छ।
गोठाला, खेताला, घाँसपात हैन,
कमान्डिंग अफिसर बनाउनु छ।

यदि,,,,
यदि,,,,
यो युग

क्षेप्यास्त्र बिना हिंड्न सक्दैन भने
बम बिना बाँच्न सक्दैन भने!
युद्द बिना यो युग चल्दैन भने!
युद्द बिना यो युग चल्दैन भने!






गजल



शहर फेरिएछ, रुप बद्लिएछ गाम उस्तै लाग्यो।
नेता फेरिएछन कुर्सी फेरिएछ काम उस्तै लाग्यो।।
.
बिकाशको ढोंग फुक्दै महलबाट मेचीकाली हेर्ने
छानोबिहिन जनताको थाप्लो सेंक्ने, घाम उस्तै लाग्यो।
.
किसान-सर्बहाराले पेट पाल्न ठेला र रिक्सा तान्दा
महलबसि रिमोट चलाउनेको जाम उस्तै लाग्यो।
.
ईतिहाँसदेखी बिक्षिप्त र अपदस्त नेपालआमा,
मल्हमपट्टी गर्नेले नै देको निल-डाम उस्तै लाग्यो।
.
रुकुम-रोल्पा,ईभाङ-सुखानी कर्णालीको ब्यथा त्यस्तै
बन्दुकको भयले फेरी चुनावमा लाम उस्तै लाग्यो।

कबिता


"बिछोडको एन्निभर्सरी"



कान्छी! मैले कर्तब्यको भेलभित्र,

तिमीलाई कैद गरेर दु:खका जेलभित्र
पिरामिडको वल्लो पट्टि लागेको
आज बर्षौ भएछ।
हाम्रा बिछोडहरुले आज "एन्निभर्सरी"
मनाउँदा सुनामीले छोएको मन
तरंगहरुमा तरंगिदैछ।
केटेरो देखी
स्काईटचको यात्रासम्म
गोडा डुब्ने आहालदेखी
धर्ती डुब्ने सागरसम्म
तिम्रै सुबोधगम्य
ज्योतिमय अनि शुबासिलो
प्रणयको चिनो,
एक थुङ्गो बूकी फूल
च्यापेर
सगरमाथाको फेदीबाट
चेरापुञ्जीको दर्केझरी सम्म
चेरापुञ्जीदेखी खाडीको तातो छातीसम्म
तिमी आभाषमा
तिमी प्रस्वासमा
तिमी बिस्वासमा
अनि

त्यहिं बिस्वासलाई
मनको तुनामा बाँधेर
यहाँ क्याक्टस गोड्दैछु।
बाहिर बनोट आफ्नै जस्तो
कुहिएको गुदी र बिरानो बस्तीमा
रगतको मुल्यले जिबन भर्दैछु।
तसर्थ तिम्रो र मेरो
कल्पित फुजीशानहरुमा
ज्वालामुखीको प्रकोप पर्ने छैन।
भन्थ्यौ, गर्थ्यौ अनि रुन्थ्यौ
आग्रहका प्याला थमाउदै आँशुले भरेर।
म स्वत; स्फुर्त कहाँ छु र ति
पिरामिडी खुड्किलाहरु
लाखौं पल्ट
चढ्दै-ओर्लदै
ओर्लदै-उक्लदै
तसर्थ

यो परिक्रमा को अन्त्य
गरेर आउँदैछु।
न्याउली बिर्सैद गरेको
कोईलीले छोड्दै गरेको
त्यो हाम्रो प्रणयको सुन्दर मन्दिरमा
आउनेछु।
मेरो रगतले साटेको तिम्रो पर्खाई र
सुनौलो भोली लिएर मेडिटेरियन समुन्दको
किनारै किनार
सप्तगण्डकी हुँदै
सप्तकोशीको
तिरै तिर
अक्करै-अक्कर
लामा-लामा बगरहरुमा
टेकेर
जन्मेको धर्ती सुसुम्याउदै
आउनेछु,
एक खाङ्ग्रे हाम्रो न्यानो
अनि चोखो मायाको सौगात लिएर।
त्यहिं बाह्रबिसेको उकालोमा
सुस्केरा मार्दै
मायाको चिनो एक थुँगा बूकी फूल लिएर
अनि हृदयको पाटाभरि
सिउरेको पेरुङ्गोको पेरुङ्गो
मायाको साया लिएर।
मायाको साया लिएर।।


गजल



गजल

हिंजो सम्म सामु हुन्थ्यौ, आज लुक्ने भयौ।
माया गर्थ्यौ मलाई नै, आज थुक्ने भयौ।

बद्लिएको रैछौ तिमी, भागी-भागी हिंड्थ्यौ ,
बैरागीको छाती भरि, आज दुख्ने भयौ।

अमृतझैं सम्झि मुटु भित्र लुकाको थें
त्यै मुटुको माझ मानै आज सुक्ने भयौ।

स्वार्थका ती खोल ओढी तीर हान्थ्यौ ममा
निशाना नै फेरे पछि आज चुक्ने भयौ!

हिंजोसम्म "बिद्रोही"को नाम जप्थ्यौ,
उस्कै नाम बेचेर पो आज भुक्ने भयौ।

सुन्नुहोस डटकम



सुन्नुहोस् डट्कम युके द्वार प्रस्तुत मेरो कबिताहरु यहाँहरु माझ बाँडे है अडियो लिन्कमा क्लिक्क् गरेर सुनिदिनुहोला / र मुकेश दा एबं  सम्पुर्ण सुन्नुहोस डटकम परिवारलाई हार्दिक धन्यबाद दिन चाहन्छु।

भाग १... [ Click Me ]
भाग २ ...[ Click Me ]

Thank you!!

कबिता: तिमेरको भोली!

हिंजो डम्फु, मादल र बाँसुरीका धुनमा रम्ने मेरो थलो,
आज बारुदको धुवाँमा, बिष्फोट भित्रको चित्कारमा बाँच्दैछ।
मारुनी,चण्डी, पालम, ख्याली, रोधी र झ्याउरेहरू आज बिदेशी
पहिरन भिरेर हजुरबाले गोबर सोहर्दा लाउने टालटुले सुरुवाल बन्दैछ।
संस्क्रितीको के कुरा भो ?? नगरौं लाज मर्दो कुरा !
आफ्नो धर्म पुरानो भो रे, नयाँ हरू मुर्दा झैं उभिएका छन।।
ल पूज, पूज, मेरा देशको संस्क्रिती गाडेर बिदेशी कट्टु सिलाउने झाँक्री हो।
मेरो मुन्धुमलाई तिमेरको चारतारेको पिज्जा रुच्दैन।
मेरो डम्फुलाई तिमेरको डामाडोल गड्याङ्गुडुङ मन पर्दैन ।
मेरो बाँसुरीलाई तिमेरको इलेक्ट्रो झड्का लाउन पर्दैन।
मेरो मन सधैं
मारुनी, सेलो,पालम, मै रम्छ, चण्डी मै रम्छ, रोधी सँग जम्छ,
त्यसैले बिदेशि दार्शनिकका फोटोकपी हो
मर्ने बेला हरियो काँक्रो खाएर, दशवटीकी पोई कुना बासी रोई
नगर,,,, भोलि न घर न घाटको बन्नु पर्ला।

कबिता


फेरि अध्याँरी लिएर,
पुरातनको बोरिबिस्तर कसेर
ऊ फेरी आउँदैछ पुरानै बिचारको खास्टो ओढेर
नयाँ स्तम्भको जरैदेखी तोडेर
छब्बिसौं शताब्दी सुलुत्तै निलेर,
"प्रयोग" नै देउता हुन भन्ने धारणा
लत्याएर ढुङ्गोमा स्वास भर्दै
ऊ पटक पटक आईरहन्छ
अहिंसा र अधर्मको घोडामा सवार भएर
नयाँ खोजलाई
नयाँ अनुसन्धानलाई पुरातनको सग्रहलयमा कैद गरेर |

तसर्थ
युग पर्खिने धर्ती,
कहिले हरियो त कहिले फुस्रो ओंठ बनाउदै
पि रहन्छिन बिष्मातका मेची र कालीहरू
यो युग र यहाँको प्राणीले नचिनेको “प्रयोग” आज
घुरेनमुनी र घुरेन माथी खेतीको मुहान बनिरहेछ /
ब्रम्हपुत्रको छाल सुनामी बन्न खोज्छ यहाँ
गंगा पुर्खाको रगत् पखालेर बग्छे
कहिले रातो त कहिले निलो कहिले खैरो त कहिले कालो रुप फेरि फेरि बग्छे

तर ,,,

तर ,,,,,,,,

प्रयोग"
नबास लाएर निदाउँछ यो युग भष्मिभुत निंद
एउटा सार्थक मान्छे केवल मुर्ती बन्न सक्यो
देउता त के बनाउछ यो युगले?
मुर्तीकारको नाङ्गो परिकल्पनाको नाङ्गो आक्रितिझै छ ऊ
लम्पट्ट नाङ्गो सोंचको पर्दा भित्र रम्ने,
प्रयोग भित्र के छिर्थ्यो ऊ?
“बुद्द=मान्छे=प्रयोग”
बुद्दको जन्म र मृत्‍यु सँग के सम्बन्ध राख्थ्यो ऊ ?
समापनको घोषणाहरुमा भतेर खाएर फुरुङग हुने यो युग
शुरुवातको सहनाई के फुक्थ्यो ऊ?
प्रयोग नै धर्म हो भन्दै खातै खात कोरेर
धमिराको दरवारमा बुझाउन सफल
मेरा पितापुर्खाको सम्झनामा
म पनि एउटा प्रयोगको पाऊ पुज्दै
एउटा बिरुवा ग्लोबको हरियो गाउँमा फ्याँक्दैछु
भोली यो प्रयोगको बिरुवामा तुषारपात नहोस,
फँडानी नहोस,
प्रयोगद्वारा सिर्जित कटेरोमा धमिरा नलागोस,
मन्दिर+ मस्जिद+ चैत्य र गुम्बा= कटेरो बनेर
त्यहाँ भित्र केवल "प्रयोग" अटावोस/
त्यहाँ भित्र केवल "प्रयोग" अटावोस//

लेखन मिती १० मे २०१२

सिम्मा र प्रेम दिबस!




सिम्मा! खाडीको पल्लो छेऊमा उभेर,
आज हाम्रो पछिल्लो "प्रेम दिबस" सम्झिरहेछु।
मेरो कोठेबारीमा फुलेको लाली फूलले
तिम्रो अमुल्य माया साट्न सक्दिन म,
तर,,,,, तर,,, यो दिबस हाम्रो प्रेमिलो
भर्‍याङ अबश्य हो।
.
भेडेटारको घुम्ती जस्तो जिन्दगीको मोडहरु,
तिमीले बाटो छेकी गरेको जोडहरु,
बिदेश नजानु है भन्दै पोखाएका एटलान्टिक
एकै फड्कामा नाघेर भबिष्यको सगरमाथा
खोप्न हिंडेको म आज,,,, आज,,
आज तिम्रो यादको मेचीकाली पिउँदैछु,
मुठ्ठी बजारेर निस्केको दुईपैसाले
भबिष्यको एउटा खास्टो सिउँदैछु।
.
बग्रेल्ती ति सपनाको भु-मध्य सागरमा उभिएर
केही गर्ने अभिलाषामा जुर्मुरिएर,
खेपी रहेछु उकालीको खच्चडले झैं
जिन्दगीको जिजिबिषाहरु।
.
हाम्रो सपना र कल्पनाको बुकी फूल उमार्न
बिगत देखीको प्रेम र भबिष्य सपार्न
रहेर तिम्रो सामिप्यमा त्यो अन्तिम पलको जगेर्ना,
टनाटन अन्जान बस्तीको रुखो मरुभुमीमा
हाम्रो मलिलो मायाको कल्पना गर्दै दौंडदै छु,
चाहे पैतलाले आगो टेकोस,
चाहे यो थाप्लोलाई हजार डिग्रीको
घामले सेकोस,
बेपर्बाह दौंडिदैछु।
यो साललाई बिगतको दिबसहरुमा
गुटमुट्याएर, आउने सालको हाम्रो
मिठो "प्रेम दिबस" मनाउने
बाचा सहित,
यो खाडीको पल्लो छेऊबाट
आत्मिय गहिराई बाट
न्यानो फूल टक्र्याउँदै
साउने झरी रुपी नयनबर्षामा डुब्दै
यो सम्झनाको पानासँगै
पल्टिन्दैछु।



बि.जे. "बिद्रोही"
तेल अबिब

गजल

कुरीति यो समाजको तोडेरनी आऊ प्रिये
पर्खाईमा म छु डर छोडेरनी आऊ प्रिये

चुलाचौका घाँसपात कारागार कैदी जस्तो
अन्तिम त्यो सहीछाप कोरेरनी आऊ प्रिये

मखमली सयपत्री आँशु झार्ला धुरु धुरु
चुमेर ती एकपल्ट गोडेरनी आऊ प्रिये

सुम्निमाको साया तिमी, बिदाईमा रोलिनकी
शिरनत गरी हात जोडेरनी आऊ प्रिये

दु:खपिर तिम्रो भाग कोल्टे फेर्ने पर्छ तिमी
कैदी गुफा छोडी मुख मोडेरनी आऊ प्रिये

संरचना ४/ ४/ ४/ ४/
"बिद्रोही" बिजे

गजल

आँशु सबै सकियोकी लाशसरि जलिरहें
छाम्दा छाती चल्छ मुटु मुढासरि ढलिरहें

गरिबी र अशिक्षानै मेरो ठुलो घाऊ भयो
छातीभित्र पोकापारी एक्लै एक्लै चलिरहें

खानदानी मेरीमाँया रवाफ त झनै ठुलो
उनको त्यो ईज्जतमा आफैमरी छालिरहें

हुँदा आफ्नो रित्तिएछु आफन्तले मुखमोड़े
बेसहारा सहाराको आशा संगै पलिरहें

निभ्यो दियो टुट्यो आशा भाँचीएछ मनपनि
उजेलीको पर्खाईमा अन्त्यसम्म बलिरहें

संरचना ४/ ४/ ४/ ४
"बिद्रोही" बिजे
Next Page
Blog Widget by LinkWithin