गजल

धोका दिने हरुको नै जाम ठुलो भयो हजुर ,
सर्बहारा चुस्नेहरूकै नाम ठुलो भयो हजुर

कोईछन् महलमा कोई रित्तो आकाशमुनि
दुखियाको सेक्ने घाम ठुलो भयो हजुर

गरिबको संघारमा जसले गर्छ आच्ची ,
संसदमा ऊनीहरु कै छ काम ठुलो हजुर

जोडजाम गर्ने सबै समाधीमा पुरिन्छ्न,
तोडफोड बिनालादेन को लामभो ठुलो हजुर

कस्लेपोके नै नाप्छर, मृत्युदेखि काँप्नेहरु ,
डुक्रिनेयो "बिजे" लाइ पनि माम ठुलो हजुर

"बिद्रोही" बिजे
हाल तेल अबिब इजरायल

अब मेरा सन्तानहरु जागीसकेका छन//




शान्ति माग्दा घोक्रो सुक्यो
दुख्न पनि कति दुख्यो
यहाँ पुकार सुन्ने बहिरो छ
चाल्नै हुन्न पाईलाहरु
जताततै पहिरो छ,,
त्यसैले मलाई समादृत हैन
अब बिस्वयुद्द देऊ
किनकी मेरा लागी चुहिंदै गरेका
दुषित रयालहरु सुकाउनु छ
मेरो खारो खन्नेहरुलाई
झुकाउनु छ,,,

झिल्को
झिल्को हुँ म
यदी यो झिल्को नभए
फोकलैंडको जितले मेरो सम्झना गर्दैनथ्यो,
त्यसैले म माँग्दिन, अब म मगन्ते हैन
अर्काको बुईमा चढेर बन्दुक चलाउदिन
अरु जस्तो
मलाई हत्केलामा राखेर खेलाउने कोसिस नगर


भयो
मेरा सन्तानहरुले अरुलाई जिताउदै
अरुलाई जितको माला पहिराउदै
मेरासन्तानहरु,
निशानाबाट ढाल हुँदै युद्द सिकेको
अब म फर्काउदै छु, मेरो सन्तानहरुलाई
आफ्नो हड्डीको रक्षार्थ
मेरा जरा कुह्याउनेहरुको बिरुद्द
मेरा सन्तान तुह्याउनेको बिरुद्द लड्न
मलाई बिस्वले देखेको छैन तर
तर मेरा सन्तानहरुले बिस्व देखेका छन
तातो बम र बारुद भित्र हात सेकेको छन
कहाँ सेकेनन भनन,,,,,
कोसोभो?? कार्गिल??? बर्मा???अफ्गानिस्थान??
मैले के देखिन सोधन मलाई,,,,
मैले छिमेकी हुनुको नाता मेरो भएर
मेरो धर्म निभाउँदा मेरै सन्तानलाई
मलाई मार्न सिकाउछौ, मेरो सन्तानहरु
तिमीहरुको खप्पर फोर्छन
तर म तर मेरो बिरुद्द लड्दैनन
नत्र मेरो ईतिहाँस खोतलेर हेर,
मेरो छोरो बलभद्र अफगानिस्स्तान सम्म
पानी पिउँदै मेरो नामको, मेरो शानको
मेरो रगतको लागी लडेको थियो
अब मेरो छातीभरि मेरै बलभद्रहरु छन
मेरै भक्ती थापाहरु छन।
म अब शान्ती माग्दिन
किनकी माग्नेहरु अपाङ्ग हुन
म अपाङ्ग हैन,

मेरो जराको रस पिएर
बोसो पलाएका ए! काला गोब्रेकिराहरु हो,
मेरो शिरमा उभिएर मेरो बिभिन्न
अमुल्य रत्न चोरी
फोहोर म तिर फ्याँक्ने ब्वाँसोहरु
अब तिमीहरु सँगको त्यो मेरो सम्बन्ध युद्दको
मैदानमा हुनेछ।
म अब एनरिको फर्मी जन्माउँदैछु
तर हिटलर जस्तो पतनशिल हैन
मेरो आँगन पेन्टागन, हिरोसिमा
र नागासाकी जस्तो जलनशिल छैन
नत्र हेर, मेरा घर आँगनहरु
यहाँ दैनिक रुपम जल्छ,, ढल्छ,,, बल्छ
तर,,,,,,, तर,,,,,,, तर
कहिल्यै सकिदैन
जलेर
बलेर
ढलेर
त्यसैले अब बुझ
गोब्रेकिरा र ब्वाँसोहो
मेरो घर र आँगनलाई
सुरक्षित राख्न ग्रेटवाल लाउन पर्दैन
पानीमरुवाहरुले, अर्काको बुइँमा चढ्नेले
बन्दुक चलाउँदा पिल्सिन्न मेरा पर्खालका चर्महरु
तिमीले जुनै रुपले ल्याउ मेरो पतनका लागी
छोड्दैनन मेरा सन्ताहरुले आफ्ना धर्महरु,

कुदृष्टी नलगाउ ! निदाएका मेरा मेची र कालीलाई
नचलाउनु,,, नब्युँझाउनु
बगाउनेछन सोहोरेर सिनित्तै
खोंचमा कोचेर तिम्रा शिरमा बजार्ने छन
दण्डित बञ्चरोहरु।

त्यसैले नछुनु मेरो चौघेराहरुलाई
तिम्रो खप्परलाई निशाना बनाएर
ग्राण्ड क्यानिन रुपी शिलाहरु
खस्नेछन तिम्रा टाउकाहरुमा
त्यसैले नछुनु, छुने कोशिषनै नगर्नु
तिम्रो शरिर सिलौटोको गोलभेंडा नबनोस्
फट्ट फुटेर छरपष्ट नबनोस तिम्रो
बिस्तारबादी आन्द्राहरु।

धेरै देखे तिम्रो राजनिती कुहिएको
गन्धे, थोत्रे, घिन लाग्दो,
म अब मैकिया वलीको सिद्दान्त
पढाउनु छ,मेरा सन्तानहरुलाई
तिम्रो ढुँडीपरेको राजनितीको बिरुद्द
तिमीले रोपेको राजनिती
मेरो शरिर बाट खौरिएर फाल्नु छ।
मेरा सन्तानहरु अब तिम्रो अन्यौल राजनितीभित्र
कैद हुने छैनन, सजिने छैनन,
बैचारिक कलहमा गाँजिने छैनन

लड्नेछन जो आएपनि
चारै दिशा कालो बादल छाएपनि
अल्बर्ट आईन्सटाईनले झैं
आफ्नो सिद्दान्त लुकेर लेख्ने छैनन
हारको दस्तावेजमा सहीछाप गर्ने छैनन,

मेरो शिशुकक्ष भित्र
थुप्रै हुर्किदै छन,
नील्स बोहर,
सिगमण्ड फ्रायड,
बर्नल बाल ब्राउस,
मेडम क्युरी अन्य थुप्रै आर्क मिडिजहरु,
हैन भने किन लाग्छन म्याग्सेसे का खातहरु,
किन भरिन्छन म्याग्सेसेले मेरा सोकेसहरु,
म्याग्सेसे दिने र दिलाउनेहरु
अन्धा छैनन,
मेरा सन्तानका कला कौशल
अनी शुरता सँगै कैयौं भिक्टोरिया क्रसहरु
त्यतिकै सजावटका लागी झुण्ड्याइएका होईनन,
मेरो पृष्ठभुमीलाई च्यातेर हेर! ब्वाँसो हो
गोब्रेकिरा हो,

त्यसैले

खबरदार! अब तिमीहरु मेरो
शरिरमा कुदृष्टी लगाउने कोशिष नगर
अब मेरा सन्तानहरु जागीसकेका छन/
अब मेरा सन्तानहरु जागीसकेका छन//

बि.जे बान्तवा राई
बैसाख १५ २०६७

कबिता

भो अब म युद्दक नगर जान्न।

भो अब म त्यो युद्दक नगर कहिल्यै जान्न,
जहाँ दैनिकीको रुप चिहानी श्रंखला
लाशहरुको उदगम स्थल
रगतहरुको क्यास्पियनमा डुबेको नगर।

युद्दनै युद्दको खेल,
निरन्तर बग्ने रंगीन राता नाईलहरु
शान्तीको खोजीमा कहिले नकटिने नैराश्यताका
हजारौं माईलहरु,
म कहिले लिबर्टी सालिकको
शिरमा उभिएर सेतो परेवा उडाउन सकिन
रोग, भोक र सोकको सहयोगार्थ
एक गाँसको सहयोगी रथ गुडाउन सकिन।

त्यसैले मैले त्यहाँ बसेर
अश्रुका अमेजनहरुमा डुबीरहनु भन्दा
आज म आफ्नै समस्थली
कुटीको खोजीमा टाढिन्दैछु,
फेरी मलाई नसोंच कायर भनी
म मेरो दाजुभाईको गर्धन सेरेर
अनी यो शहरको छानोमा आगो बालेर
बीरताको ढोंङ् रच्ने ढुकुम्बासी बन्न चाहन्न।
मलाई नाज छ, यो युद्दको ज्ञान गोब्रे खोपडीमा
लादिएएको मा,
आफ्नो शिकार गर्न आफ्नै पिंठ्युँभरी
बमबारुदको बोझहरु छाँदिएकोमा।
त्यसैले म रणभुमीरुपी ग्रेटवाल भित्र
आफ्नो जिन्दगीलाई हरियो झिँगाको
आहारा बनाउन चाहन्न |
जहाँ दुई गाँस
ढिडोको स्वाद मजाले लिन पाइयोस,
बूकी फूलको शुबासना बिहान बेलुका पाईयोस
बरु चढ्छु मेरो पहाडका चुचुराहरु
आप्पा शेर्पाले झै पटक-पटक
म मरे पनि मरुला पासङ ल्हामुले झैं
अमर मेरै पहाडका खोंचमा झरेर
मेरै गल्छिँडामा पुरिएर।
त्यसैले म त्यो युद्दक नगर अब जान्न,,,,
किनकी म युद्वको खेल खेल्दिन,,,,,
त्यसैले म युद्दक नगर जाँदै जान्न।

बी जे बान्तवा राई
१८-अप्रील २०१०

गजल

मेरो झुप्रो छोडी .....

मेरो झुप्रो छोडी अन्तै तिमी धाउँदा खेरी रोएँ।
मेरो मायाँ तोडी अन्तै मायाँ लाउँदा खेरी रोएँ।

सुकेको पतझड़ नै भयो जिन्दगी मेरो यहाँ
हरियाली भै अरुकै छानो छाउँदा खेरी रोएँ

सं-सँगै गाएको दोहोरी र रोधी बिरानो भयो
तिमी मस्की-मस्की अर्कै भाखा गाउँदा खेरी रोएँ

मैं हुँ सम्झ्यौ भरि चुली बैंशको भराउ हुँदा
सबै रित्तिएर तिमी खाली आउँदा खेरी रोएँ।

पिछा लाग्थे संसारै तिम्रो सानु हिंजो बैँश हुँदा
ढल्की गयो बैंश आज एक्लो पाउँदा खेरी रोएँ।

बि जे बान्तवा राई

कबिता

“म टुक्रीएर जानुभन्दा पहिले,,,,”

म जिर्णशार्ण
बिभक्त-बिभक्त
मस्तिष्क र अङ्ग
लिएर बेंशी र खोंचमा
सुनगाभा रोप्दा
कालो गोमनको
डँसाईले
मेरा पाऊहरु
अनी हातहरु
बिषाक्त छन,,,

मेरा पाईला अनी हातहरु
छियाँ छियाँ
खिईदै म
अस्तित्वहिन ,
अस्थिपञ्जर
सदृशताको उच्चारण
निकाल्न खोज्छु,,
कालकुटले ग्रसित
मेरा बाक्यहरु
शुन्यतामा
अधिर हुन्छन,,,

दुर्दशाको
चोमोलुङ्मा
मै माथी
खस्दा मेरा
लाश लुछन
जोपिलोटहरु
मै माथी फनफनी
घुमिरहेका छन,,,

मेरा लागी
सुग्राहिता भित्र
बग्ने ह्वाङ्हो पनि
साहारा मरुटटको
छातीमा,,
कोलाहल बिहानीसँगै
बिलिन र बिसर्जित
हुँदै आइहेछ//

बिक्षुब्ध
दुर्बल
म
मेरा भित्ताहरुमा
आस्थाका बुद्द
टाँसी
माइलादाईको
देशभक्ती स्वरमा
मैले स्वर खाप्दा
मेरा वरिपरि
"छैयाँ-छैयाँ
र
मैयाँ- मैयाँ"
धुनहरु गुञ्जयमान
हुन खोजीरहेछन,,,

त्यसैले आज म
एउटा प्रणयको
भिख माग्दैछु,
मानचित्रको नक्सा कोर्ने
ति चित्रकारहरुसँग
कृपया मेरो शरिरको चित्र
कोरिदेऊ,, मेरा
अस्थिपञ्जरको कुनै त्रुटी
नदेखियोस,, ताकी
भोलीका मेरा सन्ततीहरुले
मलाई लङ्गडो नदेखुन
पाऊ र हात बिहिन
बाबुको सन्तती भनेर,,,

मेरा युगान्तकारी हाडहरुको
यस्तो चित्र कोरीदेउ
जहाँ म टुक्रीएर गए पनि
मेरा तस्बिर मेरा चित्रहरु
सगल्ती ति मेरा सन्ततीका
भित्ताहरु टाँगिएर रहुन।


[नोट: जोपीलोट= भन्नाले अमेरिकामा पाईने एक किसिमको गिद्द।]

बि. जे. बान्तवा राई

कबिता



मनको पृथककरण र पुनरुत्पादन माग्दैछु,,,,।

सपनाको तिलिचोमा
चुर्लुम्म डुबेर सप्तरंगी
इन्द्रेनी खोज्ने मन,
बक्ररेखा झैं गोरेटोमा
समानताको नाप खोज्दै
निराशताको एन्टार्टिका
भित्र हराईरहेको छ,,,

पाईलै पिच्छे कैक्टसका
तिखा काँढा टेक्दै
कमल टिप्ने यात्रा आज
त्यहीं स्वार्थी मनको
प्रशान्त महासागर भित्र
निस्वासिँदै डुबुल्की मारीरहेछ,,

सोंची रहन्थे म,
सोंचभित्र कति बहुरंगी
गुलाफहरु फुल्छन
त्यहिं गुलाफको तिखो काँडाले
खिलिएको मुटु लिएर
भग्नावशेश सुमेरुमा
गुलाफ रोप्ने होडमा
अलकत्र झैं पटक पटक
कुल्चिई रहेछ,,,,,,,,

यात्रा भरि, कैंयौ अँध्यारी रात
अनी पारिला घामसँगको
संघर्षमा शहिद बनेको,
चिहानस्ँगै मेटिएको
प्राण पखेरुले आफ्नो गन्तब्य
लिई आफैबाट सन्याँस लिएको
भु-गर्भ भित्र लिप्त कंकाल
भोकाको गाँसभित्र अटाउन
लागेको एक छेस्का मन,,,

स्वर्गाभिमुख सदृश
जिओग्राफि भित्र
हेरेसस आत्मा
जिओमेट्रीकल प्रोगेसनको
स्पीड धडकन धड्किरहेको छ
अँध्यारी भित्र एक्लै,,,,,,,

बिष्मातको भण्डार अटेस मटेस हुँदा
बामियान को बुद्द झैं आकृती बिहिन हुदै
बिबशताको छो-रोल्पाहरु
स्वीस क्रोनो भित्र टिक टिक गर्दै
यत्र तत्र छरपष्टिन्छन
चिच्याहटसँगै चोक्टा चोक्टा भएर,,,,,

त्यसैले म ,,,,,,,,
बौद्दिक्ताका भखारी ति बिद्वानहरुलाई
मौनब्रती अदालतमा पुनरुद्दारको
लाख दियो प्रज्वलित गरी,
मस्तिष्कको जस्केलामा
बिचलित मनको पृथककरण
र पुनरुत्पादन माग्दैछु,,,,।

कबिता


नरभक्षी......!


नर्क बिचमा छ यहाँ झिलिमिली,,,
त्यसैले हरेक साँझ यहाँ रंगिन्छन
ईन्द्रको स्वर्ग र यमेको यमलोक झैं
यहाँ ईन्द्रेहरु अप्सरासँग र सोमरस सँग
यमेहरु अबोध अनी अञ्जानका स्वाससँग
हरेक घडी-घडी, किचिन्छन, थिचिन्छन
अनी यहाँ पल पल लुछिन्छन
चौखुराईएको कैदी झैं अप्सराहरु
यहाँ मजबुर छन मरेर जिउन
यो झिलिमिली भित्र कुरुक्षेत्र छ
यहाँ समुन्द्र झै बगेका आँशु छन
चेरापुञ्जी झै आँशुले भिजेका
पाईलै पिच्छे लट्ठिएका देवता छन
यहाँ छाती चिर्ने टनाटन अस्त्रहरु छन
यहाँ एकले अर्काको शिकार गर्दै गरेको
ठुला ठुला नरभक्षी पशुहरु छन
त्यसैले त यहाँ मान्छेलाइ नङ्ग्याईन्छ
बङ्ग्याईन्छ, अनी मान्छेलाई नै खाईन्छ।
२५ आस्विन २०६४ / प्रकाशित रचना

कबिता


नारी तिम्रो कोख दोषी हैन


नारी तिम्रो कोख दोषी हैन
तिमी दोषी हैनौ, तिमीलाई
दोष दिने दुनियाँ दोषी छ
तिमीले जन्माएको सन्तानले नै
दोषी देख्छ तिमीलाई
तिमी कहिल्यै दोषी हुनै सक्दैनौ
राम्रो पक्षमात्र हेर्ने दुनियाँलाई
पनि तिमीलेनै जन्माएकी हौ
तिमीले थुप्रै सन्तान जन्माई सकेका छौ
तिम्रो कोखबाट थुप्रै
थुप्रै बुद्व, राम, जिसस, मोहम्मद,
मार्क्स, लेनिन, माओ, गेटे, दाँते, रबिन्द्रनाथ, गान्धी,
शुकरात, सम्पुर्ण छोराछोरी जन्मायौ आमा बनेर
छोराले मात्र दुनियाँ हाक्न नसक्दा
आङसाङ सुकी, बेनेजीर, एलीजाबेथ,
अनी थुप्रै शासक बनेर पनि उभियौ
थुप्रै राजामहाराजाहरु जन्मिए
बिद्वान, लेखक, बैज्ञानिक सबै तिम्रै देन हुन
परापुर्बकालदेखी जन्माउदै जन्माउदै
आएर पनि आजसम्म दोष पिएर बसेकी छौ
नराम्रोको भडखालमा जकडिएर बसेकी छौ
आफ्नै छोराहरुको दुख खप्न नसकी
टेरेसा बनेर पनि उभियौ, फ्लोरेंस
भएर पनि उभियौ, अनी निंदमा लुकेका
छोराहरुको लागी पासाङ ल्हामु भएर पनि उभियौ
गौरवमय सीता माता, प्रतिष्ठित भृकुटी भएर पनि
तिमीले नारी हुनुको थुप्रै उदाहरण
दि रहेकी छौ
त्यसैले तिम्रो कोख दोषी हैन
न त तिमी दोषी हौ,
दोषी त त्यो दुनियाँ छ
जसलाई परिबर्तनको चस्मा लाउनु छ।
[कबिता लेखिएको मिती २०६० भाद्र १५ गते मनामा बहराईन।]

कबिता

खै त जिबनको परिभाषा???

आँशुको सागर वा दु:खको महल
जिउँदो हुनुको एउटा रहस्य हो की
मृत्युको लागी गरिने एउटा पहल
जहाँजतीं हिँसा छ, आतंक छ
त्यहीं छ जिबन, समेटिएको
जहाँ छ भोक छ रोग छ त्यहिं छ
जिबन लपेटिएको, झपेटिएको
जहाँ आशा अनी कल्पना, सपना छ
त्यहिं छ जिबन अनी हरेक बिषमताहरु
जिबन छ सबै छ यहाँ नर्क छ यहाँ
स्वर्ग छ यहाँ, दैंत्य छन यहाँ
देवता छन यहाँ,पशु जस्तै मानव
र मानव जस्तै पशु सबैको आ-आफ्नै
जिबन छ यहाँ, के यहि हो जिबन?
कोई मर्न चाहने जिबन छन यहाँ
कोई युगौ युग जिउन खोज्ने जिबन छन यहाँ
हारसँग जीत र जीत सँग हार मागी
रहेका अन्धो जिबनहरु छन् यहाँ
पाईला-पाईलामा फूल रोप्ने जिबन
अनी शुल पनि रोप्ने जिबनहरु छन यहाँ
खै कस्ले दियो अर्थ जिबनको??
न रामायणले जिबन यहीं भन्न सक्यो
न गीताले न बाईबलले, न कुरानले
केवल जिबन त्यो अपरिभाषित रह्यो
यहाँ परिभाषित जिबन खै कहाँ?
बुद्वको परिभाषाले आज मेटिएको छ
अहिलेका बिद्वानहरु केवल पाना थप्न
यहाँ लागी परेका छन, केवल ,,,
अनी दार्शनिक खै त यहाँ असल दर्शन??
सबै परिभाषा खोज्दा खोज्दै
बाङ्गिएका टेंढिएका, लङ्गडो, अपाङ्गो
जिबनको अर्थ खोज्दा खोज्दै
दाह्री जुँगा फुले, माटोभित्र मिले
अहँ जिबनको परिभाषा खै कहाँ?
यहाँ जिबन जहिले अपरिभाषित रहेर
जहिले लाटो बुङ्गो रहनेछ, केवल
इशाराको भरमा चलिरहन्छ जिबन
मृत्यु देखी जिबनसम्म, जिबन देखी
मृत्यु सम्म केवल अपरिभाषित
अन्धो भएर, अनी अपरिभाषाको दह्रो
जेलमा कैद भएर, त्यो कहिले
देखा पर्ने छैन, जहिले जहिले
बन्द भएको छ, त्यसको परिभाषा
जनमकैदी भएर बसेको छ,
यहाँ जिबनको परिभाषा खोज्नेहरु
र लेख्नेहरु केवल ,,,,,,
आफ्ना इन्द्रजालमा पङ्गु बनाउन
खोजेका मात्र हुन, जिबन
जहिले तहिले अपरिभाषित भएर
रहनेछ, अपरिभाषित भएर रहनेछ।

कबिता


बिस्थापित सपना र कल्पना....!
मेरो कल्पना र मेरो सपना केवल कल्पना र सपनामा सिमित रह्यो,
कल्पना र सपनामा मुर्छित मन, त्यहिं मुर्छनामा छाती पिटी रोई रह्यो।
हरेक कल्पना र सपनामा बिषमताको खडेरी अभाव बनि बर्सी रह्यो,
म अन्योलतामा रुमल्लिएको यात्री झैं बिवशता सम्हाली रहें।
मैले देखेको खुशीको काल्पनिक संसार चेरापुञ्जी झैं रुझी रह्यो, रुझी रह्यो।
क्षण-क्षणमा टुक्रा टुक्रा बनाउने अभावको चट्ट्याङ परि रह्यो,
आफुभित्र समेटिएका कोलाहल मन भुखमरीले यत्रतत्र छटपटि रह्यो,
न मेरो सपना, कल्पना र चाहनाले सागर छुएको नदी बन्न सक्यो
न मेरो सपना र कल्पनाले कसैको हृदयलाई आत्मबल नै प्रदान गर्‍यो।
म केवल खुट्टा बिहिन अपाङ्ग झै, बैसाखीको खोजीमा भौतारी रहें
न कतै ति बैसाखी रुपी छालहरु म सम्म आईपुग्न सकें।
म बग्दा बग्दै, बालुवा बिचैमा हराएको त्यो खोला खहरे बन्न पुगें
न मैले गन्तब्य पैलाउन सकें, न म हुनुको अर्थ दिन सकें
म त केवल त्यो हरियालीको सुख पाउन खोज्दा खङ्ग-रङ्ग सुकेको रुख भएछु।
सपना र कल्पनाको पछि दौंडिदा दौडिंदै हार्न पुगेको एउटा धावक भएछु।

कबिता


फोहोरी उन्माद....!

यहाँ खुशीका नाममा गन्तब्य भुले पछि
ब्यथा बोकी भौतारिन्छन नतमष्तक जवानीहरु
सिंङ्गै नदी निल्दा सम्म अतृप्त छन
ति अग्ला हिमगिरीले नछेकिने कहानीहरु
फोहोरका डंगुर झैं बनाउदै जान्छन आफ्ना जिबनीहरु
यहाँ कागजको कुनै औचित्य छैन,
क्षणिकतामै पोतिन्छन लिलामी दस्तावेजहरु
सडकहरुमा यत्रतत्र रंग बिहिन अनी
सबै मस्तिष्कमा घृणित छापाखाना बनेर
कति गहन अनी बहन गर्छन आफ्नो
अदम्य शाहसहरुलाई ति चार पर्खालको
बिचमा कालो रातको सहारा लिएर
भबिस्य सिङ्गो नाङ्गिन्छ उज्यालोमा
पछुतोको निलडाम अनी बदनामीको दाग भएर
त्यसैले बैंशले मात्तिएका ए कुखुरे हो
आफ्नो फोहोर फाले पछि कन्टेनरको
मुख बन्द गर, तिमीहरुको फोहोरको
गन्धले यहाँ शहरहरु बस्तीहरु सबै
दुर्गन्धित भएका छन, अनी स्वास लिनै
धौ धौ परिरहेछ, यहाँका गल्लीहरु
त्यसैले यो तिमीहरुको उन्मादिलो बाहिरै
पोखिहिंड्ने फोहोरी जवानी मेटासिड पिएर
मेटाइदेऊ, तिमी मर्दा फेरी फेरी
तिम्रा फोहोरी उन्मादले यहाँ ठाउँ जमाउने छैन।

कबिता

समर्पण

तिम्रो मुस्कान स्वच्छ अनि मिठो
तिम्रो माया गाढा अनि अमृतरुपी
म हरेक तिम्रो जादुमा हराईरहन्छु
तिम्रो सम्पुर्ण अनुभुतीका स्पनदनहरुमा पाईरहन्छु

हरेक प्रभात तिमीलाई सम्झेर उठ्ने गर्छु
हरेक रातको निदरीमा तिमीलाई देख्ने गर्छु
अनी मलाई लाग्छ तिम्रै बाहुपासमा छु
मलाई लाग्छ तिम्रो हरेक स्वासमा छु

मलाई यस्तो महसुस पहिलो चोटी भयो
तिम्रै तस्बिर मेरो वरिपरि घुमिरह्यो,
अनी त मैले मेरो स्वास-प्रस्वास सुम्पीदिएँ
उप्रान्त मेरो जिबन तिम्रै नाम गरिदिएँ

गिती कबिता


आफैलाई कहाँ लगेर बगाउँ?

म तिम्रो नजरबाट फ्याँकिएको मान्छे हुँ,
म आफैलाई खोज्न कहाँ जाउँ।
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मान्छे हुँ अरु जस्तै गल्ति त हुँदोरैछ,
आफ्नैले पराई ठानी फ्याँकेपछि मन धेरै रुँदोरैछ।
बाटो पनि बन्द भयो उनीसम्म पुग्ने मेरो,
सम्झना भने सधै रह्यो उनकै सेरोफेरो।
टुक्रेको मुटु लिई अब म कता जाउँ?
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मलाई छोडी उनी सुखी बनी हाँस्छिन भने
स्वीकार्य छ, जहाँ जाउन खुशीसँग बाँच्छिन भने,
म नै जिउँला बेदनाको सबै पोका पारी,
भिरि दिउँला जुनीभरी दुखका सबै भारी।
आँशु लिएर जाँदैछहु खुशी बनी तिमी रमाउ
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

कबिता


बुबा!

बुबा!
कतै तिम्रा सन्तानहरुको मायाबाट
ओझेलिएका त छैनौ, तिमी?
सबैले आमा सम्झिदा आमासँगै
लहरिने बुबालाई बिर्सिंदा, तिमीलाई
पिंडाले भतभती पोलेको त छैन?
लाग्दो हो तिमीलाई, मैले कहिल्यै माया
मेरो सन्तानलाई दिन सकेनछु ताकी
आज म मेरै सन्तानको माया बाट,
सम्झना बाट क्षितिज भित्र थुनिएको छु।
लाग्दोहोला कहिलेकाहीं तिमीले गरेका
सबै दुख तिम्रा सन्तानहरुले देखेनन।
लाग्दो होला तिमीले एकान्तमा रुएका
आँशुहरु कसैले देखेनन अनी तिम्रा
ति फोका उठेका हातका निशानीहरु
तिम्रा सन्तानले देखेनन, लाग्दो होला
कतै तिमी एक्लै त छुईन यहाँ भनेर,
सुम्सुम्याउदो होलाउ तिम्रो पिल्सिएको
पिठ्युँ, अनी तिम्रा तालुहरु जहाँ
सन्तानको भारले किचिएका,
अनी पटक पटक कर्तब्य बोक्नुको पिंडा,
त्यसै त्यसै छटपटी हुँदोहोला,
डाको छोडी रोऊँ भने हुतीहारा भन्ने डर,
नरोऊँ भने आज बैंशले डाँडा काट्दा
सन्तानहरुले आमा च्यापी बिर्सिंदाको
पलहरु तिमीलाई धेरै दुख्दो हो,
तिम्रा ति पाईतलाहरुमा अझै
ति तिखा काँढाको डोबहरु होलान,
हिंजो सन्ताहरुको लागी त्यो उकालो ओरालो
अनि भञ्ज्याङ चौतारी गर्दै
बिताएका क्षणहरु कतै तिम्रा
ति मस्तिष्कमा कालोबादल झैं
मडारिएका त छैनन?
तर,,,, तर,,,,
यदी तिमी यी सोंचहरु सँग
निस्सासिएका छौ भने,
अनी यी कालामन सँग आत्तिएका छौ भने,
आजै त्यागी देऊ सबै ति तिम्रा
शंकाहरु, तिम्रा सन्तानहरु तिम्रा लागी
मात्र मौन छन, तर तिम्रो महत्व
त्यहाँ छ, स्वास र जिबन झैं
तिम्रा सन्तानहरु तिमी बिना
अनी तिमी तिम्रा सन्तान बिना
कहिल्यै कहिल्यै पुरा हुन सक्दैनौ।
तिमीलाई मौनतामा छोडेर कहिल्यै
भाग्न सक्दैनन तिम्रा सन्तानहरु,
उनीहरुलाई थाहा छ, तिमीले दिएको ओतहरु
तिमीले पिएका चोटहरु, अनी तिमीले मेटाएका
दुखका खोटहरु, तिमी त्यो अँध्यारो जलिरहने
एउटा दीप हौ, मोतीको उज्यालो केवल
अँध्यारोमा देखिन्छ रे, तिमी त्यो मोती हौ,
जुन युगौंयुग असल पिता बनेर उभिएका छौ
नि-सन्देह, नि-संकोच अटल सगरमाथा झैं
अटल हिमालय झैं

समय सन्दर्भ



मेरो हजुरआमाको डाइरीबाट...........!

"घुरुमा घुरु परेवी घुर्‍यो बार्दली कौसीमा,
९० है सालमा भुँईचालो गयो सोमबारे औंसीमा"

यो सानो टुक्रा हाम्रा बाजेबराजुले जुहारी गीत गाउँदा कहिलेकाहीं प्रयोग गरेको सुन्थे,हाम्रा पुर्खाहरुले सम्झेको क्षण ९० सालको भुँईचालो अनि त्यो सोमबारे औंसी बुढापाकाहरु सम्झिरहन्छन, शायद त्यो डर लाग्दो नै थियो र दुखदायी पनि त्यसैले सम्झिरहन्छन। त्यस्तै २०४५ सालमा पनि भएको थियो। तर पनि मान्छेहरु बाँचे अनी हाम्रा पुर्खाहरु बाँचे,यो जुहारीमा शान्तीको दुत परेवीको बयान र उनको संकेत र उनको संकेत घर बार्दली कौसीको बयान छ। अचेल परेवीहरु, ति शान्तीका दुतहरु सितन भुटन भएरै होला शायद त्यो कौसी शुन्य रहन्छ, अनि त्यहाँ न परेवी घुर्छ न सोमबारे औसी नै पर्खिनु पर्छ, यहाँ हरेक क्षण हरेक घडी भुँईचालोले क्षतिग्रस्त अनी मानव समबेदनाको यहाँ केहि चासो छैन। शान्तीकी दुत परेवी त घुर्न आउनै छोडिन त्यस्तै सोमबारे औंसी पनि हामी बाट हरायो। अब त केवल औंसी बिहिन नियम बिनाका कालरात्रीले यहाँ हरेक समय लुटिरहेको अवस्था छ यहाँ। हेरकको खप्परमा कालको त्रीशुल घुमिरहेको छ। अशान्तीको सन्देश दिने काला काला कागहरु गिद्वहरु घुमिरहेका छन। मानिस नै महिसासुर बनेर मानिसलाई झम्टी रहेको अवस्था हो यो। म सानो छँदा आमा सँग बिहानी सबेरै पानी भर्न पधेरो जाँदा बिहानी प्रहर ताराहरु धर्ती चुम्न झिलिलि गर्दै भुँईसम्म आइपुग्थे, आमाले भन्नु हुन्थ्यो नानी हेर तिमीलाई हेर्न तारा पनि तिम्रो नजिक आउन खोज्दैछ, तिमीलाई धेरै काम गरेको देखेर तारा खुशी भएर तिम्रै नजिक स्याबासी दिन आउँदैछन भनेर भन्नु हुन्थ्यो, बिहानीको भालेको डाक पाछिको क्षण कति रमाइलो, रहन्थ्यो, मिर्मिरे उज्यालो सँगैको त्यो क्षणहरु, अचेल यसरी मिर्मिरेमा काम गर्नु जानु भनेको सिधै घाईंते बाघको मुखमा जानु, अनी ति पहिलेका आमा सँगै पानीपधेरी गर्दा झिलिलि गर्ने ताराहरु हराईसके, त्यतिबेला आकाश बाट खस्थे झिलिलिलि,,,,, अहिले धर्तीबाट आकशतिर झिलिलिलि,,, कस्तो बिडम्बना नयाँ युगको नयाँ तमासा,,,,,,।मलाई मेरी हजुरआमाले सधैं भन्नु हुन्थ्यो उहिलेका कुराहरु, उखानहरु टुक्काहरु, बिभिन्न दैत्यका कथाहरु,,,, दैत्यले देवतालाई दुख दिएको यस्तै कथाहरु भनिरहनु हुन्थ्यो,,, म सुनीरहन्थे,,, एउटा कुरा पनि भन्नु हुन्थ्यो सुनेको कुरा त भोग्नु पर्छ रे भनेर अहिले साँच्चीकै दाह्रा बिहिन दैंत्यहरु वरिपरि घुम्दा होकी जस्तो पनि लाग्छ। म conservative mind को पिछा गर्ने खालको त हैन तरै पनि यस्ताकुरालाई नियाल्ने गर्छु, कतै त्यहिं रुढीबाद भित्र पनि केहि समेटिएका पो छनकी, कतै केहि सत्यता पो लुकेको छ कि भनेर। त्यहि पुराना युगको को भनौ हाम्रा बाजे बराजुको पालाको कुरालाई नियाल्दैछु र भिन्नता छुट्ट्याउन खोज्दैछु, कति फरक छ त उहिले र अहिलेमा? हाम्रा बाजेबराजुहरु १४-१५ दिन लागाएर नेपाल शहर [काठमाडौ] पुग्थे रे। बाटोमा हिंड्दा बाघ भालुको बाहेक केही चिन्ता हुन्नथ्यो रे, बाटोभरि बडो रमाईलो गर्दै जान्थे रे,कोई भेट्यो भने साथी भाई भैहाल्थे रे,त्यति बेला सवारी साधन नभएर पनि यसरी जिबन यापन रमाइलो गरेर बिताएका थिए रे, अहिले हामिलाई उड्ने गुड्ने मान्चेह् भन्दा हजारौ, लाखौं गुना छिटो हिड्ने र उड्ने भएर पनि हामी त्यहिं उहिलेको अवस्था मा भन्दा पनि दुखदायी अवस्थामा छौं, किन? कसबाट? कसरी? यो प्रस्नको समाधान कहिले हुनवाला छैन।घर देखी राजधानी बिशेष काममा हिंड्यौ भने छिटो पुग्न बसमा चढेर जानु पर्ने हुन्छ। हामी गरीब निम्छरो, र न्युन आय भएको ब्यक्तीले हवाईजहाज चढ्न त के छेऊमा गएर उभिदा पनि हामीलाई आतंककारीको उपनाम लाग्छ। हुनेखानेहरुलाई त त्यो अवस्था कहिले आउँदैन, किनकी चक्काजाम भएनी एम्बुलेन्स छँदैछ, गरीब बिरामी परेर लाने टाँगा रोकिन्छ तर ठुलाठालुलाई स्वस्थ्य नै भएर पनि एम्बुलेन्सको दुरुपयोग गरिन्छ। यहाँ घुन झैं पिसिने को रहेछन त? अब रह्यो उहिले १४-१५ दिन लाग्ने राजधानीको यात्रा अहिले पनि हुरुरुरुरुरुर्‍ कुदने बसमा त्यतिनै दिन लाग्दैछ। अलि पर गयो कसैको गाईभैसी ले बाली खायो चक्काजाम, हुनेखानेको कुकुर किचेर मर्‍यो चक्काजाम कुन चाहिं नेतालाई कुर्सी मिलेन चक्काजाम, तोडफोड आगजनी अब उहिले बाघ भालु सँग डराउँथे भने अहिले मान्छेले मान्छेलाई डराउनु पर्ने। यहिं चक्काजाम फस्दा फस्दै काठमाडौ पुगिने होकि माथीनै पुगिने हो, केहि थाहा हुन्न, काठमाडौ भन्दा माथी पुगिने प्रबल सम्भावना धेरै रहन्छ, राजधानी यात्रामा। आज भन्दा डेढ बर्ष अघी होला २००८ नोवेम्बर ३-४ तारिख तिर राजधानी लागें बिच बाटोमा झण्डै १२-१५ वटा भन्दा धेरै पार्टीको बन्द आह्वान लाई समेट्दै जानु पर्‍यो। त्यति बिचमा कति बसहरु जले यात्रीका सबै दुख गरि कमाएर ल्याएको सबै सम्पत्ती स्वाहा, बिदेश बाट आउँदै गरेका लगेजहरुको धुवाँले आकाशनै छुईरहेको थियो, जंगल बिचमा लगाइएको लाम बसहरु लुट्नेकाम अनि सबै कुराहरु भैरहेको पनि त्यति नै बेला थाहा पाईयो। अर्काको दुखको धन सोहरेर टन्न बन्दुक भिरेर लुट्न पल्केका साँढेहरु पनि देखियो, तर सबैमा मौनता थियो, अपहरित कैदी झैं त्यो जंगलहरुमा भोकै झण्डै ७ दिन पछि काठमाडौ पुगेको त्यो क्षण कहिलेपनि भुल्दिन। मान्छे बिग्रे पछि, कुबिचारले जरा गाडेपछि त्यो साँच्चीकै कुहिएको भन्दा नि अझै खत्तमनै हुँदोरहेछ, न उ सँग दयाको सिमा रहन्छ, न उसमा मानवताको खोलनै, केवल अहंकार अनी उसमा मृत्युको सवार। यसमा कसलाई दोषी ठान्ने? सबै मान्छे नै छौ? त्यो पनि सबै नेपालीनै छौं,अब हामीले नै आफ्नो कर्तब्य बुझ्दैनौ भने त कसलाई दोष् दिनु र, कसलाई यहाँ गुहार्नु र? यहाँ मान्छेले मान्छेलाई झम्टिंदा, मान्छेले मान्छेलाई पहरा दिनुपर्ने कस्तो बिडम्बना? उहिलेकोका हाम्रा पुर्वजहरु मिलेर बस्थे रे, ८४ ब्यञ्जनको भोज लाग्थ्यो रे त्यतिबेला एकार्कामा भेट हुँदा, मादल, सारङ्गी, बिनायो, मुर्चुङ्गा बज्थे रे, बन जंगलमा बासुरी को धुनमा मयुर नाच्थे रे, घाँसदाउरा गर्दानि भोक तिर्खै बिर्सिने जुहारी पर्थ्यो रे हाम्रा हजुरबा हजुरआमाहरुको, अहिले त जंगलमा घाँस दाउरा त मेरी बास्सै यमराजको दरबारमा सिधै छिर्नु जस्तो भा छ। बन जंगल घास दाउरा लिन जाने वल्लाघरे पल्लाघरे दाई दिदीहरु आमाहरु बुबाहरु बिद्रोही कि आतंककारी भएका छन घाँसको भारी दाउराको भारी बोक्दा बोक्दै आफ्नो अमुल्य जिन्दगीलाई बन्दुकको निशानी बनाएका छन, युगौं नमेटिने कस्तो रोग लागेको हो, यसको उपचार कैयौं आमाबुबा दाजुभाई अनी दिदीबहिनीहरुले आफ्नो जिबनको बली चढाउँदा पनि निको नहुने, बिहान बेलुका बनीबुतो गरेर जिबन यापन गर्ने दिदीबहिनीहरुले सोझा निमुखा जनताले खोला का खोला रगत बगाउँदा सम्म कहिल्यै जाती नहुने घाउ नेपाललाई लागेको छ। यहाँ हामीले देउता भनेर पुजिने देवताहरुले नै हाम्रो आस्थाको बलत्कार गरेका छन। जनताले दिएको देश प्रतीको योगदानको कदर बिर्सी आफ्नो दुनोको लागी अरु शहिद बनाउन जुटेका जुटै छन। मलाई एकजना कबियत्रीको सुलोचना मानन्धर धिताल याद आयो

युद्व छ
त्यसैले अनिकाल छ
अनिकालमा मान्छे पनि बेचिन्छ रे
मान्छेनै बाँकी नरहेपछि
युद्व स्वयं बेचिन्छ कि?

त्यसैले,,,,,
अमान्छे हो,
युद्वलाई बाँकी राख
मान्छे जातीको नै मृत्यु भएपछि
बेचेर खान काम लाग्छ!

म पनि कबियत्रीलाई समर्थन जनाउन चाहन्छु, सही कुरो जहाँ युद्व छ अबस्य त्यहाँ के हुदैन,,,,,,,? अबस्य सबै आपतकालिन अवस्थाका भलपहिरो उर्लिरहन्छ। जब सम्म मानवमा मानवताको पहिचान हुदैन, जब सम्म मान्छेले आफ्नो महत्व आफुले बुझ्दैन तब सम्म सबै कुरा रहिरहन्छ एउटा बिनाश भएर।

अस्तु!

[मेरी हजुरआमाले भर्नु भएको मेरो खोपडीको डाईरीमा यति अटेछन, लेखी हालें यदी गल्ती भएमा माफ गर्नुहोला।]
Blog Widget by LinkWithin